काठमाडौं उपत्यकामा शुक्रबारयता लगातारजस्तै वर्षा भइरहेको छ । पछिल्लो एक महिनायता अति प्रदूषित बनेको उपत्यकाको वायुमण्डल वर्षासँगै सफा हुने अनुमान गरिएको थियो ।
तर, सोमबार दिउँसोसम्म पनि काठमाडौंको वायुमण्डल अस्वस्थकर नै देखिएको छ । वातावरण विभागको प्रमुख चार स्थानका प्रदूषण सूचक यन्त्रमा वायु प्रदूषणको मात्रा १५० भन्दा बढी छ ।
विभागका अनुसार ललितपुरको खुमलटार क्षेत्र र भैँसेपाटीमा प्रदूषणको मात्रा १५३ एक्यूआई रहेको छ । कीर्तिपुरमा १५२ र रत्नपार्कमा १५१ एक्यूआई देखिएको छ ।
एक्यूआई (एयर क्वालिटी इन्डेक्स) मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ भने १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । एक्यूआई जति बढ्दै गयो त्यति घातक हुने डब्लूएचओले जनाएको छ ।
गत चैतयता वन डढेलोका कारण देशभर वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ । “वन डढेलोको असरले अझैपनि काठमाडौंमा बाक्लो तुवाँलो देखिएको छ, सीमसीम वर्षाले मात्रै यो हट्दैन, ठूलो वर्षा भएपछि मात्रै काठमाडौंको प्रदूषण कम हुने देखिन्छ” विभागका प्रवक्ता शंकर पौडेलले भने ।
काठमाडौंमा मंगलबारसम्म हल्का वर्षा भएपनि भारी र निरन्तर वर्षा भने नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।