ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) गण्डकी र होटल सङ्घ पोखराले नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनसँग पर्यटनकाे विकासका लागि आपसी सहकार्यका विषयमा पोखरामा छलफल गरेका छन् ।
पोखराका पर्यटन व्यवसायीसँगको छलफलमा नेपालका लागि अमेरिकी राजदूत थम्पसनले नेपाली अर्थतन्त्र उकास्नका लागि पर्यटन सबैभन्दा बढी महत्त्वपूर्ण रहेको बताए । राजदूत थम्पसनले नेपालमा पर्वतीय पर्यटनको अथाह सम्भावना रहेको बताए । पर्यटन विकासका लागि चाहिने दक्ष जनशक्ति उत्पादनमा अमेरिकी दूतावासले सहकार्य गर्न सक्ने उनले बताए ।
उच्च हिमाली भेगमा जलवायु परिवर्तनको असर अधिक रहेको र यसलाई कम गर्ने उपायबारे अमेरिकी राजदूतावाससँग सहकार्य गरी काम गर्न तयार रहेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले राजदूत थम्पसन समक्ष बताएका छन् ।
राजदूत थम्पसनले पदयात्रा पर्यटन नेपालका लागि महत्त्वपूर्ण रहेको छ बताउँदै हिमाली भेगमा जलवायु परिवर्तनको असर पनि उत्तिकै रहेको प्रति चिन्ता व्यक्त गरे । पदयात्रा क्षेत्रलाई सुरक्षित बनाउनका लागि मौसमी अवस्थाबारे जानकारी दिने प्रविधि जडान गर्न सकिने, जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगमा आइपर्ने जोखिम न्यूनीकरण गर्नका लागि पूर्व सूचना प्रणाली स्थापना गर्न सकिने थम्पसनले बताए । मौसम पूर्वानुमान सम्बन्धी जानकारी दिने प्रविधि राख्ने हो भने हिमाली भेग सुरक्षित हुने जवाफ राजदूत थम्पसनले बताए ।
छलफलमा राजदूत थम्पसनले पदयात्रामा जाने पर्यटकका लागि पथप्रदर्शक अनिवार्य गरिएको विषय प्रति चासो व्यक्त गरेका थिए । टान गण्डकीका अध्यक्ष पन्थीले पदयात्रामा जाने पर्यटकको सुरक्षाको लागि पथप्रदर्शकको व्यवस्था गरिएको जानकारी गराएका छन् ।
एक्लै पदयात्रामा जाँदा पर्यटकहरू हराउने गरेको, असुरक्षित हुने गरेका कारण पर्यटकको सुरक्षालाई नै ध्यानमा राखेर अनिवार्य गाइड लानुपर्ने नियम लागु गरेको अध्यक्ष पन्थीले जानकारी दिए ।
“एक्लै पदयात्रामा जाँदा उत्पन्न हुने समस्या न्यूनीकरण गर्नका लागि एक्लै पदयात्रामा जान नपाउने गरी व्यवस्था गरिएको हो”, अध्यक्ष पन्थीलाई उद्धृत गर्दै टान गण्डकीको आधिकारिक फेसबुक पेजमा लेखिएको छ, “पदयात्राका क्रममा कुन बेला कहाँ के अप्ठेरो आउने भन्ने थाहा नहुने भएकोले सहयोगी लिएर जाँदा सहज हुने भएकोले यो नियम ल्याइएको हो ।”