काठमाडौंमा पानीको चरम अभाव सुरु भएको छ । काठमाडौंको उत्तरपश्चिमी भेगमा पर्ने चन्द्रागिरि नगरपालिकाका विभिन्न स्थानमा पानीको चरम अभाव भएपछि स्थानीयले प्रदर्शन सुरु गरेका छन् ।
धारामा पानी आउन छाडेको र पानीको अभाव भएको भन्दै नगरपालिकाको कार्यालय रहेकै १२ नम्बर वडाका स्थानीयहरु रित्तो गाग्रीसहित आइतबार प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरुले आइतबार प्रांगणदेखि मेयरको कार्यकक्षसम्म गाग्री राखेर विरोध जनाए । मेलम्चीको पानी नपुगिसकेको सो भेगका स्थानीयले स्थानीय स्रोतबाट पानीको गुजारा टार्दै आएका थिए । तर सो स्रोत समेत सुकेपछि उनीहरुले मेयर गुहारेका हुन् ।
पछिल्लो समय काठमाडौंका विभिन्न भेगमा खानेपानीको चरम अभाव देखिएको छ । माग धान्न सक्ने गरी आपूर्ति नभएपछि रित्ता गाग्री बोकेर मेयरको कोठा धाउन थालिएको हो ।