चैत–वैशाख महिना वनपाखामा ढकमक फूलेर राताम्य हुनु गुराँसको विशेषता नै हो । त्यसैले त अरु फूलभन्दा उच्च कोटीमा आफ्नो आकर्षण बनाउन सकेको छ । अस्थित्व राख्न सफल भएको हुनसक्छ । तर अहिले ठिङ्रिङ उभिएको देख्दा कति लाज लागेको होला ? धेरैको मनमा एउटै जिज्ञासा पाइन्छ, चैत–वैशाख ढकमक फुल्ने गुराँसलाई यस वर्ष किन बैंस नआएको होला ?

पाथीभरा जाने पदमार्ग दायाँबायाँ गुराँसको झाङ । तर गुराँस हो कि होइन भने ठम्याउन निकै मुस्किल छ । किन कि अरु रुखभन्दा त्यति भिन्नता देखिँदैन । पाथीभरा मन्दिरमा प्रत्येक दिन पूजापाठ गर्न जाने आउने तीर्थयात्री एकैछिन उभिएर यसो हेर्ने गर्दछन् । अनि भन्ने गर्दछन्–यसपटक “गुराँस किन फुलेन ?” विगतको समयमा पाथीभरा जाने पदमार्गमा कुनै विशिष्ट व्यक्ति वा दुलहीको स्वागत गर्नका लागि बसेको जस्तै पदमार्गको दायाँबायाँ विभिन्न प्रकारका लालीगुराँसका फूलले सजिएको हुन्थ्यो । पाथीभरा क्षेत्रका वनपाखा रङ्गिन बन्थ्यो । लालीगुराँस फुलेपछि पाथीभरा दर्शनका लागि आउने तीर्थयात्री सबैको मन लोभ्याउने गर्दथ्र्यो । गुराँसका रुख छन् तर तिनमा फूल लागेको छैन ।

विगतका वर्षमा पाथीभराको दर्शनसँगै गुराँस फुलेको मनोरम दृश्यको अवलोकन गर्न ठूलो सङ्ख्यामा तीर्थयात्री आउने गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुहुन्छ । नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने समितिले जनाएको छ । सिदिङवा गाउँपालिका–४ साब्लाखुकी फूलमाया लिम्बूलाई पाथीभरा दर्शनसँगै पदमार्गको दायाँबायाँ फुलेको गुराँसको आनन्द लिने पनि धोको थियो । उनका ती रङ्गीन सोच लामो समय टिक्न सकेन । उनले बाटोमा कतै गुराँस फुलेको देख्न पाएनन् । “किन गुराँस फुलेन ?” लिम्बूले भने, “गुराँस फूलेको हेर्न पाइन्छ भने आइयो तर गुराँस फुलेको रहेनछ ।” त्यस्तै गुराँस हेर्नका लागि पाथीभरा आएका सप्तरीका शिव यादवको मन पनि खिन्न भयो । गुराँस तस्बिरमा मात्रै देखेका उनी भन्छन्, “ढकमक्क गुराँस फूलेको हेर्ने इच्छा पूरा भएन ।”

जलवायु परिवर्तन कारणले गुराँस फुल्न नसकेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका वन संरक्षक दिपेन्द्र पोखरेल बताउँछन् । यस वर्ष विगतको जस्तो असोजदेखि खासै वर्षा हुन सकेन । हिमाली भेगहरुमा हिमपात नभई हिउँ पर्ने समय गएको छ । विगतमा चाँदी जस्तै सेताम्य हुने हिमालहरु कोलो चट्टान जस्तै देखिन थालेका छन् । हिउँ पग्लेर हिमरेखाभन्दा माथि जान थालेको पोखरेलले बताए ।

वनस्पतिविद् विजया पन्त जमिनमा पानीको मात्रा कम भएकाले यसपालि गुराँस नफुलेको हुनसक्ने बताउँछन् । उनी भन्छन्, “पानीलाई सोसेर गुराँस फुल्ने भएकाले फुल्नु अघि पानी नपर्दा गुराँस फुल्न सकेन ।” उनका अनुसार सुक्खा हुनेबित्तिकै सूक्ष्म जीवाणु र ढुसीले माटो मलिलो र रसिलो बनाउने प्रक्रिया बन्द हुने भएकाले कोपिला लागे पनि गुराँसको फूल फक्रिन नसकेको हुनुपर्छ ।

पर्यटन मन्त्रलयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणसमेत गरिएकाले गुराँसको संरक्षण गर्ने काम भइरहेको छ । यस क्षेत्रमा सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन् । यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छन् । यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङ जस्ता प्रजातिसमेत रहेका छन् ।

हिमाली र पहाडी भेगमा ढकमक्क गुराँस फुलेको हुन्छ । फागुनदेखि जेठसम्म गुराँस फुल्छ । गुराँसलाई विम्ब बनाएर धेरै गीत, गजल र कविता लेखिएका छन् । यतिबेला सामाजिक सञ्जालमा गुराँस छेउ उभिएको, हत्केलामा गुराँस राखिएको, कानमा स्युरिएका तस्बिर बढी लोकप्रिय हुन्छन् । पाथीभरा जानेहरु देउतालाई गुराँस चढाउँछन् ।

नेपालमा छ हजार मिटरको उचाइमा गुराँस पाइन्छ । वन तथा वातावरण मन्त्रालयको वन तथा भू–संरक्षण विभागले प्रकाशित गरेको “गुराँस संरक्षण कार्ययोजना २०७५–२०८०” मा मेची–महाकालीसम्म ४३ जिल्लामा धेरै प्रजातिका गुराँस पाइने उल्लेख छ । छ लाख ९१ हजार पाँच सय ९६ हेक्टर अर्थात् कूल वनको १० प्रतिशत क्षेत्रमा गुराँस पाइन्छ । प्रदेशमा टिएमजे (तिनजुरे, मिल्के र जलजले), ताप्लेजुङको पाथीभरा क्षेत्र, पाँचथरका छिन्तापु–सुकेपोखरी र च्याङ्थापु, इलाम, सोलुखुम्बु, खोटाङ, धनकुटाका गाउँ गुराँसका लागि चर्चित छन् । बाग्मती प्रदेशका दामन–सिमभञ्ज्याङ र रसुवामा गुराँस पाइन्छ । गण्डकी प्रदेशका कास्की, घोडेपानी, लमजुङ, म्याग्दी गुराँसका लागि निकै चर्चित छन् ।

कर्णाली प्रदेशको रुकुम, मुगु, हुम्ला, डोल्पा, जुम्ला र दैलेखमा गुराँस पाइन्छ । सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेल्धुरा, बैतडी लगायत क्षेत्र गुराँसका चर्चित छन् । नेपालका ४३ वटै जिल्लामा गुराँस पाइने विभागले जानएको छ । गुराँस संरक्षण कार्ययोजनामा एसिया, उत्तर अमेरिका, युरोप र अस्ट्रेलिया महादेशमा गुराँस पाइन्छ । गुराँस पाइने कुल क्षेत्रफलको ९० प्रतिशत नेपाल, चीन, भारत, भूटान, म्यानमार, थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया र फिलिपिन्सले ओगटेका छन् । हिमाली तथा पहाडी क्षेत्रमा कतै गुराँसकै जङ्गल, कतै मिश्रित जङ्गल पाइन्छन् ।

‘कञ्चनजङ्घा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू नामक’ पुस्तकका अनुसन्धानकर्ता तथा लेखक डा यादव उप्रेतीका अनुसार गुराँसको प्रचुरता पूर्वी हिमालय र मलाया दीप समूहमा अत्यधिक देख्न सकिन्छ । उप्रेती चीनको युनान प्रान्तमा दुई सय ५०, भारतको अरुणाचलमा ७५, सिक्खिममा ३६, भूटानमा ४६ र नेपालमा ३३ प्रजातिको गुराँस पाइने बताउँछन् ।

गुराँसप्रतिको आकर्षण एकातिर छ भने यसको जैविक तथा पर्या–पर्यटकीय महत्व पनि उत्तिकै छ । गुराँसले वनको शोभा बढाउने र पर्यटक आकर्षित गरेको जैविक विविधतामा लामो समयदेखि काम गर्दै आएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राई बताउँछन् । “गुराँसलाई पर्यटनसँग जोड्नुपर्छ”, राई भन्छन्, “विकास निर्माण तथा विभिन्न अतिक्रमणका कारण गुराँस वन क्षेत्र घट्दै गएको छ । यसलाई जोगाउन गुराँससम्बन्धी थप अध्ययन र अनुसन्धान आवश्यक छ ।”

नेपालमा पहिलोपटक गुराँस लगायतको नुमना र बीउ सङ्कलन स्कटल्यान्डका वनस्पति विज्ञ फ्रान्सिस बुखानन हामिल्टले गरेको थियो । सन् १८०२ देखि १८०३ सम्म नेपालमै बसेर गुराँसको नुमना सङ्कलन गरेका थियो । त्यस्तै, गुराँस अध्ययनकै सिलसिलामा वनस्पतिविज्ञ जेडी हुकरले सन् १८४८ नोपलका पूर्वी पहाडी क्षेत्रको भ्रमण गरेका थियो । पछिल्लो समयमा गुराँस मासिने क्रम बढ्दै गएकामा स्थानीय तथा संरक्षण अभियानका अगुवा चिन्तित छन् । सडक निर्माण, विद्युत् प्रसारण लाइन विस्तारका कारण गुराँसका रूख मासिने क्रम बढेको छ । त्यसो त दाउरालगायत प्रयोजनका लागि गुराँस वन फँडानी भएको छ । रासस

आइतवार, १७ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !