वनमा खेर गइरहेको सिस्नो अहिले भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि सिस्नोको पनि गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको माग अधिक छ । सीप सिकेका महिलाहरुले अहिले गाउँमा सिस्नोको धुलो बनाउँछन् ।
प्याकिङपछि सिस्नो देशबिदेश पुग्छ । बागलुङको जैमिनी नगरपालिका–३ दमेकका उद्यमीको परिचय यहि उत्पादनले बदलेको छ । यहाँका किसानले उत्पादन गरेको सिस्नोका माग बजारमा बढ्दो छ । वनजङ्गल र घरआँगनमा खेर गइरहेको सिस्नोलाई संकलन गरी पाउडर बनाइन्छ ।
पहिले तरकारीका रूपमा एकाध प्रयोग हुने बहुगुणी सिस्नोको बजारीकरणमा जैमिनी नगरपालिकाले सघाएको छ । नगरपालिकाले सिस्नोको धुलो बनाउने आधारभूत तालिम र मेसिनसमेत सहयोग गरेपछि महिला उद्यमी उत्साहित छन् ।
यो वर्षमात्रै दुई हजार किलो सिस्नो पाउडर तयार भयो, माग धान्नै सकिएन गाजादह सिस्नो पाउडर उत्पादन समितिका अध्यक्ष अध्यक्ष तारादेवी पुनले भने । अब सिस्नो उत्पादनमा लाग्न कृषकहरु उत्साहित भएकाछन् । पहिले छुँदा पोल्ने सिस्नोलाई झाडीका रूपमा पन्छाएर आगो लगाउने किसानले अहिले सिस्नो जोगाउन थालेका छन् ।
बाँझो जग्गामा सिस्नो लगाउने योजना छ, आफैँ उम्रिएको सिस्नोले अब पुग्दैन पुनले भने । सामान्य प्रचार हुँदामात्रै देश–विदेशबाट माग आयो । चितवन, काठमाडौँ, पोखरा र हङकङका बजारमा दमेकको सिस्नो पुगेको उनले बताए ।
यसले स्थानीय महिलालाई आम्दानी पनि राम्रो भएको छ । पाउडरका रूपमा उत्पादन गरिने सिस्नो विभिन्न खानाका परिकारसँग खान मिल्ने र स्वास्थ्यलाई समेत फाइदा पुग्ने भएकाले माग बढ्दै गएको हो । प्रतिकेजी रु छ सय ५० मा सिस्नोको धुलो बिक्री भइसकेको पुनले बताए ।
सिस्नोको धुलोको गुन्द्रुक पनि यहाँको परिचय बनेको छ । सिस्नोलाई किसानले सावधानीपूर्वक टिपेर गुन्द्रुक बनाउँछन् । त्यही गुन्द्रुकको स्वाद मिठो हुन्छ । हामीले यो वर्ष व्यावसायिक उत्पादनको प्रयास थाल्यौँ, प्रशोधन र प्याकिङमा नगरपालिकाले सहयोग गरेको छ स्थानीय कृष्णबहादुर छन्त्यालले भने । गाउँ आउनेले बोकेर जान्छन । बजारबाट आएको माग पूरा गर्न सकिएको छैन ।
सिस्नो सबै याममा पाइँदैन । किसानले वर्षायाममा जङ्गलबाट सिस्नो घर भित्र्याउँछन्, गुन्द्रुक बनाउँछन् । गुन्द्रक एक सय ग्रामलाई रु दुई सयमा बिक्री हुने गरेको छ । धान फल्दैन, कोदो, मकै र गहुँ कम फल्छ, हाम्रो मुख्य उत्पादन आलु हो, अहिले गुन्द्रुकले आम्दानीसँग जोडेको छ ।
खानाको स्वादका लागि निकै राम्रो मानिने सिस्नु पनि स्वरुप फेरिएपछि मूल्य पाउन थालेको छ । किसानले बर्सेनि उत्पादन गर्ने सिस्नो कहिले खाद्यान्नसँग साटेर त कहिले बिक्री गरेर खर्च चलाउँथे ।
पछिल्लो समय वडा र नगरले सिस्नोको परिकार बनाउन सिकाएको छ । किसानले गुन्द्रुकको धुलो बनाउन थालेपछि यसको बिक्री बढेको छ । सटही र बिक्री गर्दाभन्दा दोब्बर मूल्य पर्ने गरेको स्थानीय इन्द्र थापाले बताए ।
स–साना उत्पादन गरेरै भए पनि नागरिकलाई उद्यमी बनाउने प्रयासमा भएको वडाध्यक्ष कृष्णबहादुर भुजेले बताए । सिस्नो पोसीलो भएका कारण शहरतीर बढी रुचाईएको छ । यसको प्राविधिक रुपमा स्तरीकरण गरेर बजारीकरण गर्न गाउँपालिका लागेको छ ।
प्याकीङ राम्रोसंग गर्न सकीयो भने यसको बजार बढ्दै जाने बिश्वास गरीएको छ ।