Trending
नेपालमा अहिले गर्मी मौसम छ । तराइमा उखरमाउलो गर्मी छ, पहाडमा गरम गरम । हिमाली क्षेत्रको चिसो नै हुने भयो । तर, यो मौसममा अलि कम । वसन्त ऋतु भएकाले जहाँतहीँ रूख बिरुवामा नयाँ पालुवा, हरियाली, फूलै फूल । प्रकृतिलाई जवानी चढेको बेला हो यो । घुमघामको लागि सर्वोत्तम समय । गर्मी मौसम भएकाले खोलानाला, झरनाको घुमघाम बढी रमाइलो हुन्छ यस बेला । किनकि निर्धक्कले पानीसँग खेल्न पाइन्छ ।
झरना र पानीसँग खेल्न मन पराउनेहरूका लागि उत्कृष्ट गन्तव्य हो, बाहुबली झरना । काभ्रेपलान्चोक जिल्लाको राेशी गाउँपालिकामा अवस्थित यस झरनाको खास नाम चाहिँ तीनधारे झरना हो । चर्चित दक्षिण भारतीय चलचित्र बाहुबलीमा देखाएको झरना जस्तै देखिने भएकाले यस झरनालाई बाहुबली झरना भनिएको हो ।
यो झरनाको उद्गम स्थान महाभारत पर्वत शृङ्खलामा रहेको छ । यो झरना काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलबाट ३० किलोमिटरको दुरीमा अवस्थित छ । समुद्र सतहबाट लगभग १८०० मिटर उचाइमा रहेको यो झरनाको उचाइ लगभग ३०० मिटर छ । तिनधारे झरना वि.सं. २०२८ सालमा पत्ता लागेको थियो ।
महाभारतको लेकबाट तीनवटा धाराको रूपमा खसेको हुनाले यस झरनाको नाम तिनधारे झरना रहेको हो । यो झरना काभ्रेपलाञ्चोक जिल्लाको एक चर्चित पर्यटकीय गन्तव्य हो ।
खासगरी गर्मी माैसमा दैनिक सयाैँ पर्यटक यस झरनामा पुग्ने गरेका छन् । उचाइका कारण झरनाकाे पानी निकै चिसाे हुन्छ । तर, गर्मी माैसमा भने मज्जाले खेल्न सकिन्छ ।