सल्यानमा तीन सय हेक्टरभन्दा बढी जंगल डढेलोले नष्ट भएको छ। डिभिजन वन कार्यालय सल्यानका अनुसार जिल्लाका अधिकांश वनमा आगलागी भएको छ।
शारदा नगरपालिका- २ र छत्रेश्वरी गाउँपालिकाका- ९ वटा सामुदायिक वनमा डढेलो लागिरहेको डिभिजन वन कार्यालय सल्यानका कार्यालय प्रमुख जीतेन्द्र महतले जानकारी दिए। गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेको उनको भनाइ छ।
सामुदायिक वन उपभोक्ता समूह, वन कार्यालय र सुरक्षाकर्मीको मद्दतमा डढेलो नियन्त्रणमा लिने प्रयास भइरहे पनि बढ्दो गर्मी र हावाका कारण नियन्त्रण गर्न कठिनाइ भइरहेको महतको भनाइ छ। जिल्लाका अधिकांश भागमा सल्लाको वन भएकाले पनि डढेलो बढ्दै गइरहेको उनले बताए।
कार्यालयका अनुसार छत्रेश्वरी गाउँपालिकाको इन्द्रा सामुदायिक वन, ओखलढुंगा, भुवनेश्वरी, छत्रेश्वरी, पेदिखोला, सिसमखोली, खाराजडा, मालारानी र सिद्ध पोखरी सामुदायिक वन र शारदा नगरपालिकाको हरियाली र शारदा सामुदायिक वनमा डढेलो लागिरहेको छ।
कार्यालयले वन संरक्षण तथा डढेलो नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि उक्त कार्यक्रम प्रभावकारी भने देखिएको पाइँदैन। उपभोक्ताले पनि सल्लाको कुसुम झर्दा हिँडडुल गर्न गाह्रो हुने तथा घाँस पलाउने आशमा डढेलो लगाउने गरेका छन्।
जंगलमा लागेको आगो बस्तीमा पस्दा मानवीय क्षति नभए पनि आधा दर्जन घरगोठ जलेर नष्ट भएका छन्। जंगलमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा दुई वर्षयता ४ जनाको मृत्यु भएको छ।