बजारमा बढ्दो जुम्ली स्याउको मागलाई मध्यनजर गर्दै स्याउले आर्थिक समृद्धि,रोजगारी सृजना तथा पर्यटन प्रर्बद्धनमा टेवा पुराउने लक्ष्यका साथ जुम्लाको गुठिचौरमा करोडौँको लगानीमा कर्णाली प्रदेशकै ठुलो स्याउ बगैँचा निर्माण गरिएको छ ।
जुम्ला स्याउ उत्पादनमा आत्मनिर्भर जिल्ला हो । जुम्लालाई स्याउको राजधानी समेत भनिन्छ । यहाँका १९ हजार घरधुरी मध्ये १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर छ । जुम्लाको बेसीदेखि लेक सम्मको सबै जमिन स्याउ खेतीका लागि उर्वर छ ।
पछिल्लो समय स्याउ खेतीको क्षेत्र समेत विस्तार हुँदै गएको छ । कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार जुम्लाको चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ ।
राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा जुम्ली अर्ग्यानिक स्याउको माग बढेसँगै पछिल्लो समय स्याउको क्षेत्र विस्तार हुँदै गएको छ । सुपरजोन, पालिका, कृषि विकास कार्यालयले स्याउ खेतीको विस्तार गरिरहेका छन् । तर स्याउ खेती विस्तार भएको यकिन तथ्याङ्क आउन बाँकी छ ।
स्याउ खेतीको क्षेत्र विस्तार तथा किसान आकर्षित भएपनि व्यवसायीक स्याउ खेती नहुँदा बजारको माग अनुसार पूर्ति हुन सकेको छैन । समग्र नेपालकै मागलाई धान्न सक्ने स्याउ उत्पादनको सम्भावना भएको जुम्लामा व्यवसायीक स्याउ खेती नहुँदा वर्षेनि चीन र भारतबाट नेपालमा अर्बौँको स्याउ निर्यात हुने गरेको छ , भने जुम्ला सहित अन्य जिल्लाको स्याउले ४/५ महिना समेत धान्न सकेको छैन ।
करोडौँको निजी लगानीमा निर्माण गरिएको कर्णालीको पहिलो तथा नेपालकै दोस्रो ठुलो स्याउ बगैँचाले जुम्लाको आर्थिक समृद्धि,एग्रो टुरिजम प्रवर्द्धन तथा रोजगारी सृजनामा पुग्ने देखिएको छ । बुधबार कृषि विकास कार्यालय जुम्लाको आयोजनामा जिल्ला स्थित सरोकारवालाले गुठिचौरमा रहेका तीन वटा बृहत् बगैँचाको अनुगमन गरेका छन् ।
जुम्लाले स्याउबाटै कृषि क्रान्ति सुरु गरेकोले गुणस्तरीय उत्पादन, ग्रेडिङ, लेवलिङ तथा प्याकेजिङमा ध्यान दिनुपर्ने र ढुवानीमा राज्यले सहुलियत दिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बताए । उनले भने,“जुम्ला समृद्धिको एक स्रोत स्याउ हो । स्याउको व्यवसायी खेती विस्तार तथा किसानको उत्पादन सुरक्षित हुने नीति आवश्यक छ । सरकारले ढुवानीमा सहुलियत दिनुपर्छ भने,किसानले उत्पादनमा जोड दिन जरुरी छ ।”