स्पेनका ८४ वर्षीय कार्लोस सोरियाले बिश्वको सातौँ अग्लो धौलागिरि हिमाल आरोहणका लागि बेसक्याम्पमा पुगेका छन् । म्याग्दीको धौलागिरि गाउँपालिकामा रहेको ८ हजार एक सय ६७ मिटर अग्लो हिमाल आरोहण कार्लोसको यो १३ औँ पटकको प्रयास भएको बताईएको छ ।
गत वर्ष कार्लोस ७ हजार मिटरको उचाइमा रहेको पहिलो क्याम्पमा पुगेर फर्कीएका थिए । धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास उन्को थियो । कार्लोसको दुई दशक यता १२ औँ पटक आरोहण गर्दा पनि धौलागिरिको चुचुरोमा पुग्ने सपना पुरा हुन सकेको छैन । धौलागिरि आरोहण गर्ने सपना पुरा गर्न यसपालि कार्लोस फेरी बेसक्याम्प पुगेका हुन् ।
सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटर भन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान राख्न कार्लोस सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा धौलागिरि हिमाल चढ्न लागेको सेभेन समिट टे«कका फाउण्डर पासाङ शेर्पाले जानकारी दिएका छन् ।
प्रतिकुल मौसमका कारण यतिखेर कार्लोसको आरोहण दल बेसक्याम्पमा रोकिएको छ । कार्लोसको आरोहण दलको नेतृत्व मिङतेम्बा शेर्पाले गरेका छन् । सेभेन समिटका तर्फबाट २५ जना विदेशी आरोही बेसक्याम्पमा पुगेका शेर्पाले जनाएका छन् । अनुकूल मौसम भए २० देखि २५ दिन भित्रमा हिमाल आरोहण गर्ने छन् ।
स्पेनका ८४ वर्षीय पर्वतारोही कार्लोस सोरिया सहितको आरोही टिम १२ दिन अघि बेसक्याम्पमा पुगेको हो । आरोहीहरू अनुकूल मौसमको प्रतीक्षामा छन् । मौसममा सुधार आए लगत्तै आरोहीहरू धौलागिरिको चुचुरोतर्फ लाग्ने उहाँले बताउनुभयो । ८४ वर्षीय कार्लोसले यसपालि धौलागिरि हिमाल आरोहण गर्ने लक्ष्य लिएको बताएकाछन् ।
धौलागिरि राउन्ड पदयात्राका लागि पुगेका पर्यटकहरू पनि भारी हिमपातका कारण बेसक्याम्पबाट फर्किएकाछन् ।