Trending
२५६७ औँ बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थलमा ‘लुम्बिनी सरसफाइ अभियान’ २०८० सुरु गरिएको छ ।
शनिवार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्रसहित ४ नम्बर र ५ नम्बर गेट वरपरको क्षेत्रमा सफाइ गरेर अभियानको सुरुवात गरेको हो ।
‘ग्रीन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्ध जन्मस्थललाई सफा र स्वच्छ राख्ने उद्देश्यले अभियान सुरु गरिएको कोषका सदस्य सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । उनले अन्तर्राष्ट्रिय पर्यटकीय स्थललाई सफा राख्नका लागि कोषसँगै स्थानीयहरू समेत जागरूक हुनुपर्ने बताए ।
कोषले नियमित रूपमा सफाइ गर्दै आए पनि ४ नम्बरदेखि ५ नम्बर गेटसम्म फोहोर चुनौतीपूर्ण बनेको छ । शनिवार कोषका पदाधिकारी र कर्मचारीहरू हातमा कुचो बोकेर उक्त फोहर डम्पिङ साइट जस्तै बनेको क्षेत्रमा सफाइ गरेका छन् ।
यसअघि पटक पटक फोहर नफाल्न आग्रह गरिए पनि फोहोर थुप्रिन नछोडेपछि कोषले आफैले सरसफाइ अभियान सुरु गर्दै लुम्बिनीलाई सफा राख्न सन्देश दिएको सदस्य सचिव शाक्यले बताए ।
‘पवित्र स्थलमा फोहोर फाल्दा त्यसले राम्रो सन्देश दिँदैन’ सदस्य सचिव शाक्यले भने –‘फोहोर व्यवस्थापन गर्नुपर्छ, तर रातीमा लुकीलुकी कोषको कम्पाउन्डमा फोहोर नफाल्न आग्रह गर्दछौँ ।’ लुम्बिनीमा नियमित रूपमा नै सफाइ अभियान चलिरहेको तर अभियानले सबैलाई सक्रिय बनाउने उनले बताए ।
लुम्बिनी होटल सङ्घका महासचिव पुरुषोत्तम अर्यालले ५ नम्बर गेट अगाडि फोहोरका विषयमा पटक पटक छलफल भए पनि यसको दिगो व्यवस्थापन हुन नसक्दा समस्या देखिएको बताए ।