नेपालको संघीय राजधानी काठमाडौं अहिले संसारकै प्रदूषित शहरको दोस्रो नम्बरमा रहेको छ। वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा हाल काठमाडौं जिल्ला एयर क्वालिटी इन्डेक्स १७२ रहेको छ।
काठमाडौं उपत्यकाको वायु केही दिनदेखि अति अस्वस्थकर रहेको चिकित्सकहरूले बताएका छन्। पछिल्ला केही दिनदेखि भएको वायु प्रदूषणमा सुधार हुन सकेको छैन।
हरेक सुक्खायाममा काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा पर्ने गरेको छ। देशका विभिन्न भागमा लागेको डढेलोका कारण काठमाडौं उपत्यकासहित देशका अन्य भूभागमा समेत वायु प्रदूषण बढेको हो। पानी नपरेसम्म वायु प्रदूषण कम नहुने मौसमविद्हरूले बताएका छन्।
काठमाडौँ महानगरपालिकाले १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरेको छ। समुदायस्तरमा वायु प्रदूषण नियन्त्रणसम्बन्धी जनचेतना जगाउने उद्देश्यले विष्णुमती नदीलाई छुने १० वटा वडाका जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिलाई समेटेर सञ्जाल गठन भएको दाबी गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे सरकारले बनाएका योजनाबारे संसद्लाई जानकारी गराउन माग गरेकी छन्। आजको प्रतिनिधिसभा बैठकमा उनले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना मागेकी हुन्।