पर्यटन क्षेत्रका विज्ञ तथा व्यवसायीहरुले देशको समग्र पर्यटन विकासका लागि सरकार निजी क्षेत्र र नागरिकस्तरबाट समेत एकीकृत प्रयास आवश्यक भएकोमा जोड दिएका छन् ।
उनीहरुले बदलिँदो परिवेश र मागअनुसार पर्यटनका लागि नयाँ सोचसमेत आवश्यक भएको बताए । यस्तै, उनीहरुले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय सुधार तथा अन्य देशसँगको नेपालको कनेक्टिभिटी बढाउनुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन बोर्डले काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय समृद्धिमा पर्यटनको भूमिका’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै मुख्य सचिव शङ्करदास बैरागीले पर्यटनका लागि कसैको एकल प्रयासभन्दा पनि सरकार र निजी क्षेत्रबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी रहेको बताए । उनले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने रणनीतिक कार्ययोजनाका साथ अघि बढ्नुपर्ने बताए ।
“पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको समन्वय र सहकार्य आवश्यक छ । सबै मिलेर जाऔँ, छिन्न, भिन्न भएरभन्दा पनि समन्वयका साथ काम गर्न सकेको खण्डमा परिणाम निस्कन्छ । सरकार पनि नीतिगत सुधारको लागि प्रयासरत नै छ । आउने नीति तथा कार्यक्रममा केही सुधार अवश्य हुन्छ,” उनले भने ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले वायुसेवा निगमको व्यवस्थापकीय सुधार गरी अन्तर्राष्ट्रिय गन्तव्य बजार विस्तारका लागि प्रक्रिया अघि बढेको बताए । उनले अन्तर्राष्ट्रिय पर्यटन आकर्षणका लागि प्रभावकारी कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बोर्डले गरिरहेका कार्यबारे प्रस्तुति दिँदै पर्यटन क्षेत्रको विकासका लागि विदेशी पर्यटकलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय बजार रणनीति आवश्यक रहेको बताए । साथै, उनले कोभिडपछि नेपालको पर्यटन लयमा फर्किँदै गएको समेत जानकारी दिए ।
कार्यक्रममा सचिवहरु टेकनारायण पाण्डे र सुरेश आचार्य तथा सहसचिव डण्डुराज घिमिरेलगायतले कतिपय नीतिगत सुधार भए पनि अझै थप सुधार आवश्यक रहेको र पर्यटन सेवालाई एकद्धार प्रणालीबाट लैजानुपर्ने खाँचो औँल्याए ।