एक किलोमिटर पर्तिरको तिब्बती बजार नेपालीका लागि ३ वर्षदेखि बन्द भएकाले पाँच दिन लगाएर सदरमुकाम खाँदबारीबाट भरिया र खच्चडले खाद्यान्न लैजान्छन्

संखुवासभा -किमाथांकाका पासाङ भोटेले एक किलोमिटर पर्तिर तिब्बतको चाँगा र देन्दाङ बजारमा पाइला नटेकेको तीन वर्ष बित्यो । विगतमा उनले यिनै दुई बजारबाट नुनतेल किन्ने हो । सीमा प्रहरी चौकी किमाथांकासँग अस्थायी अनुमतिपत्र लिएर पासाङ आधा घण्टा ओरालो हिँड्थे । अनि उताबाट नुनतेल किनेर ल्याई गर्जो टार्थे । कोरोनाकालपछि अवस्था पहिलेको जस्तो रहेन । किमाथांका नाका तिब्बततर्फबाट पूर्ण रूपमा बन्द गरिएको छ । वारिपारि आउजाउ ठप्प छ ।

‘सदरमुकाम खाँदबारीबाट लगिएको नुनतेल महँगोमा किन्नुपर्छ,’ उनले भने, ‘नाका खुला हुँदा तिब्बतका बजारबाट दैनिक उपभोग्य सामान किनेर खान्थ्यौं ।’ भोटेका अनुसार तिब्बतका सामान धेरै सस्तोमा पाइन्थ्यो । सदरमुकामबाट भरिया र खच्चडलाई बोकाएर ल्याइएका सामान ढुवानी भाडाले नै धेरै महँगो पर्छ । सदरमुकाम खाँदबारीमा २० रुपैयाँमा पाइने नुन किमाथांका पुग्दा १ सय रुपैयाँ पर्छ ।

भोटखोलाका हटिया बजारसम्म जेनतेन ट्र्याक्टर पुग्छ । यो पनि सदरमुकाम खाँदबारीबाट करिब ८२ किलोमिटर टाढा हो । त्यहाँबाट झन्डै सय किलोमिटर भने खच्चड र भरियाबाट ढुवानी गर्नुपर्छ । त्यो दूरी छिचोल्न ठ्याक्कै ३ दिन लाग्छ । त्यसपछि मात्रै भरिया र खच्चड किमाथांका पुग्छन् । ‘त्यसैले हामी साह्रै भान्सामा परेका छौं, नुनतेल किनेर खाइसक्नु छैन ।’ भोटेका अनुसार सदरमुकाम खाँदबारीमा १ बोराको २ हजार पर्ने चामल किमाथांका पुग्दा स्थानीयले १० हजारसम्ममा किन्नुपर्छ ।

‘ढुवानीका कारण समस्या छ,’ उनले भने, ‘किमाथांका नाका सरकारले खोलिदिए तिब्बतबाट सस्तोमा खानेकुरा ल्याउँथ्यौं ।’ किमाथांकाका अधिकत्तर स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए । त्यो पनि अहिले बन्द हुँदा ज्याला मजदुरी गरिखानेलाई मर्का परेको उनले बताए । कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथांका नाका तीन वर्षअघि बन्द गरेको थियो ।

नाका बन्दले चिनियाँ बजारबाट आयात हुन नसक्दा उत्तरी भोटखोला क्षेत्रमा खाद्यान्न अभाव देखिएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए । चीन सरकारले २०७६ माघ ५ मा बन्द गरेको किमाथांका अझै खोलेको छैन । कोरोना महामारीलाई कारण मान्दै नाका बन्द गरिए पनि ३ वर्षको अवधिमा भोटखोला गाउँपालिकामा एक जना पनि संक्रमित भेटिएनन् । तर, नाका भने अझै खुलेको छैन । खाँदबारीबाट भरिया र खच्चडमा पु¥याइने खाद्यवस्तु चर्को ढुवानी भाडाले अचाक्ली महँगो भएको उनले सुनाए । ‘नाका कहिले खुल्ने प्रतीक्षामा छौं । सरकारलाई पनि घच्चघच्याउँदै छौं,’ उनले भने, ‘यही अवस्था रहे भोटखोलामा खाद्य संकट हुन्छ ।’

नेपाल–चीन अधिकारीहरूको गत मार्च अन्तिम साता तिब्बतको ल्हासामा बैठक भएको थियो । उक्त बैठकले पनि नाका खोल्ने विषयमा ठोस पहल गर्न नसकेकोमा भोटे चिन्तित छन् । भोटखोला गाउँपालिकाले शुक्रबार किमाथांका नाका खुलाउन नेपाल सरकारको ध्यानाकर्षणसमेत गराएको छ । गाउँपालिकाका अध्यक्ष, प्रदेश सांसद राजेन्द्र कार्कीसहितको टोलीले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नाका खोल्न माग गरेको छ ।

काठमाडौं पुगेको टोलीले गाउँपालिकाका लागि आउँदो वर्ष बजेट बढाइदिन पनि माग गरेको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभाले गृह मन्त्रालयमा नाका खोल्ने र यहाँका समस्याका बारेमा पटकपटक जानकारी गराएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए । ‘त्यहाँका समस्या देखेर हामीले नाका खोल्ने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘भोटखोलाका समस्याका बारेमा लेखेर पठाएका छौं ।’

भोटखोला क्षेत्रमा कोदो र आलु मात्र फल्छ, धान फल्दैन । करिब ५ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन । किमाथांका, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार तिब्बती क्षेत्र नै हुन् ।

आइतवार, २६ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा