भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । बुधबार एक परिपत्र गर्दै गृह मन्त्रालयले नेपाल राष्ट्रिय व्यवसायी महासंघको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाहीको निर्देशन दिएको छ ।
यो निर्देशन हुबहु पालना भए भाडा लिएर यात्रु बोक्ने सबै निजी सवारी कारबाहीमा पर्नेछन् भने यसले पठाओ र इन्ड्राइभरसहित राइड सेयर सेवा दिएका दर्जनौं कम्पनी पनि प्रभावित हुने जोखिम छ । एपको प्रयोगमार्फत निजी सवारीमा यात्रु बोक्ने काम यस्ता राइड सेयर सेवप्रदायक कम्पनीले पनि गराइरहेका छन् । अझ पछिल्लो महिनाहरुमा त अफलाइनमै यस्तो सेवा लिने/दिनेहरु बढेका छन् ।
अझ पछिल्ला दिनमा विभिन्न लामो रुटमा समेत साना निजी गाडीहरुले मोलमोलाइ गरेर यात्रु ओसार्न थालेपछि सार्वजनिक यातायात व्यवसायीहरु भड्किएका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले मंगलबार गृह मन्त्रालयमा एक ज्ञापनपत्र पेश गर्दै सार्वजनिक यातायातका सवारी साधनहरुलाई प्रत्यक्ष असर पुर्याउने गरी निजी सवारीको रुपमा दर्ता भएका सवारी साधनहरु उद्देश्य विपरीत आफूखुशी भाडा तोकेर देशभर निर्वाद रुपमा यात्रु ओसारपसार गर्ने गरेको गुनासो गरेको थियो ।
‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १२ मा एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्ने नपाइने व्यवस्था भएपनि विभिन्न स्थानहरुमा निजी सवारी साधनहरुले सार्वजनिक सरह सवारी सञ्चालन गरेको महासंघको भनाइ थियो ।
‘यस्तो कार्यले द्वन्द्व र विवाद समेत हुने गरेकोले कानुन विपरीतका कार्यहरुको प्रभावकारी नियन्त्रणको व्यवस्थाका लागि सम्बन्धित निकायमा निर्देशन गरिदिनुहुन अनुरोध गरिन्छ’ ज्ञापनपत्रमा भनिएको थियो । यसकै आधारमा गृहले महासंघको पत्र संलग्न गरेर बुधबार आवश्यक कारबाहीका लागि भन्दै जिल्ला प्रशासन कार्यालयहरुमा परिपत्र गरेको हो ।