Trending
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायको पहुँचमा पुर्याउन स्थानीय तहले भूमिका खेल्नुपर्ने बताउनु भएको छ ।
बिहीबार ‘अपाङ्ता भएका व्यक्तिहरुको न्यायमा पहुँचका अवरोध पहिचानसम्बन्धी अध्ययन’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई न्याय दिलाउनका लागि स्थानीय तहहरुले भूमिका खेल्नुपर्ने बताउनु भएको हो।
स्थानीय निकाय अलि सजग भयो भने, स्थानीय निकायहरुले कुन माध्यमबाट हुन्छ, आफ्नो क्षेत्रमा अपांगता भएका व्यक्तिहरु हुनुहुन्छ, उहाँलाई न्यायको पहुँचको लागि सही सुझाव दिएर न्याय दिलाउने व्यक्तिहरुले सही सल्लाह, सुझाव दिएर न्यायिक निकाय, अर्धन्यायिक निकायमा पुर्याउने सल्लाह, सुझाव दिनुपर्यो उहाँले भन्नुभयो,।’
उहाँले पीडितहरुले कानूनी सहायता खोज्दापनि उनीहरुलाई हतोत्साही बनाउने प्रवृत्ति देखिएको भन्दै त्यस्तो प्रवृत्ति हटाउनुपर्ने बताउनुभयो । अध्यक्ष मगरले कानूनी प्रक्रियामा गएपछि न्याय पाइन्छ भनेर पीडितहरुलाई विश्वास दिलाउनुपर्ने र कानूनी प्रक्रियामा जान उत्साहित बनाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘उहाँहरुलाई हतोत्साहि होइन, उहाँहरुलाई उत्साहित गर्नुपर्यो । तिमीले न्याय पाउँछौँ । जानुपर्यो । चाँडै हुन्छ भन्ने गरेर उत्साही बनाउनु पर्यो’।
परिवारले न्यायिक निकायसम्म पुर्याउन सहयोग गर्नुपर्ने उहाँको भनाई छ । अध्यक्ष मगरले सार्वजनिक स्थानका भौतिक संरचनाहरुपनि अपाङ्गतामैत्री हुनुपर्ने जोडदिनुभयो ।