Trending
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका लागि यो सिजन पाँच दर्जन बढी विदेशीको उपस्थिति हुने भएको छ । दक्षिणी मोहडाबाट आरोहण गर्नेहरू अर्को साता बेसक्याम्प पुग्ने तयारीमा रहेको पर्यटन व्यवसायीले बताएका छन् ।
अन्नपूर्ण र सगरमाथापछि मात्रै चहलपहल बढ्ने कञ्चनजंघा क्षेत्रको घुन्सा बेसक्याम्पमा अहिले नै ट्रेकिङ गर्नेहरू पुग्न थालेको स्थानीय बताउँछन् । पर्यटन मन्त्रालयले कञ्चनजंघा हिमाल आरोहीको संख्या यकिन गरिसकेको छैन । तर, यो सिजनमा ५० देखि ६० जनासम्म त विदेशी आरोही मात्रै हुने इलाइट एक्सपिडिसन ग्रुपका मिङमा डेभिड शेर्पा बताउँछन् ।
कञ्चनजंघा हिमालमा व्यवसायी स्वयंले बाटो बनाउनुपर्ने भएकाले कतिको संख्यामा आरोही हुन्छन् भन्ने प्रारम्भिक तथ्यांक निकालिएको उहाँले बताउनुभयो । उहाँको कम्पनीबाट पनि यो वर्ष दर्जन बढी विदेशी आरोही छन् । पैदलमार्ग खराब भएकाले उनीहरूका लागि खाद्यान्न, एक्सपिडिसनमा प्रयोग हुने सामग्री हेलिकप्टरबाट लाने तयारी भइरहेको पनि उहाँले बताउनुभयो । आरोही, सहयोगी, खाना पकाउने, बाटो बनाउने शेर्पासमेत गरी अर्को सातादेखि तीन सयको हाराहारीमा बेसक्याम्पमा उपस्थिति हुने अनुमान मिङमा डेभिडको छ ।
कोरोना संक्रमणका कारण २०७५ देखि ०७७ सालमा हुन नसकेको कञ्चनजंघामा गतवर्ष आरोहण भएको थियो । यो वर्ष पनि गत वर्षकै जस्तै विदेशी आरोही रहेको व्यवसायी बताउँछन् । कञ्चनजंघा संरक्षण क्षेत्रका पर्यटन सहायक टाँसी शेर्पाका अनुसार जर्मन, इरान, जापानलगायतबाट ट्रेकिङ गर्नेहरूचाहिँ घुन्सा पुगेका छन् । साउथ र नर्थ दुई बेसक्याम्पबाट आरोहण गर्न सकिने भए पनि नर्थबाट आरोहण गर्ने कोही पनि नभएको टाँसीले बताउनुभयो ।
‘अब केही दिन पछि गाउँनै पर्यटकले भरिनेछ,’ टाँसिले थपे, ‘होटलवालालाई सोध्दा राम्रै संख्यामा बुक गरेको जानकारी दिनुभएको छ ।’ सामान्य अवस्थामा १ हजार ४ सय सम्मले भ्रमण गरेको तथ्यांक रहेको कञ्चनजंघा संरक्षण क्षेत्रको दुवै बेसक्याम्पमा पुगिसकेका होटल व्यवसायी टाँसीले बताउनुभयो। कञ्चनजंघामा जापानी, जर्मनी, अस्ट्रेलिया, अमेरिका, फ्रान्स, बेलायत, नेदरल्यान्ड, क्यानडा, स्विजरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन, स्विडेनलगायत देशबाट आउने गरेको तथ्यांक छ । भारत र चीनबाट पनि आरोहण तथा भ्रमणका लागि आउने गरेका छन् । सहज अवस्थामा पुस, माघ, असार र साउनमा बाहेक विदेशी पर्यटक आउने गरेको टाँसी बताउँछन् ।
ठूलो संख्यामा भने चैत, वैशाख, जेठ र असोज, कात्तिक, मंसिरमा आउँछन् । आरोहण भने वैशाख र जेठमा मात्रै हुने गरेको छ । सामान्यतः ४५ दिनको कोसिसमा आरोहण गरेर फर्कने मिङमाडेभिड बताउँछन् । १९५५ मे २५ का दिन पहिलो पटक कञ्चनजंघाको आरोहण भएको थियो ।
सदरमुकाम फुङलिङदेखि पैदल यात्रा गर्दा २४ दिनमा मात्रै एक फन्को लगाएर फर्कन सकिने कञ्चनजंघा क्षेत्रको भ्रमण दूरी अहिले छोटिएको छ । अहिले १६ दिनमा दुवै बेसक्याम्प पुगेर फर्कन सकिने पर्यटन व्यवसायी बताउँछन् ।
यात्रा गर्न सक्नेले ११ दिनमै पनि टुंग्याउँछन् । पूर्वमा सिरिजंघा गाउँपालिकाको याम्फुदिन र उत्तरमा फक्ताङलुङ गाउँपालिकाको लेलेपसम्म यातायातका साधन चल्छ । त्यहाँदेखि भने पैदल यात्रा गर्नुपर्छ । हिमाली क्षेत्रमा लेक लाग्ने भएकोले आराम गर्दै हिँड्न पर्यटक गाइडको सुझाव छ ।