Trending
शुक्रबार परेको भीषण असिनाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा भित्र्याउने बेलाको हिउँदे बाली र तरकारी खेतीमा ठूलो क्षति भएको छ।
अन्नपूर्ण गाउँपालिका-७ हिस्तानलगायत उत्तरी म्याग्दीका विभिन्न गाउँमा दिउँसो परेको बाक्लो असिनाले पाक्नै लागेको हिउँदे बालीसमेत नास गरिदिएपछि किसान चिन्तित भएका छन्। म्याग्दीको उच्च लेकाली क्षेत्रमा वर्षासँगै परेको असिनाले खेतीमा क्षति गरेको किसानले बताएका छन्।
हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको हिस्तानका कृषक रमेश पुर्जाले बताए। शुक्रबार दिउँसो करिब ३ बजेतिर हिउँजस्तै जम्ने गरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको उनको भनाइ छ।
खेतबारीमा लगाएको गहुँ, तोरी, केराउ, जौ, उवालगायत भित्र्याउने समय भएका हिउँदे बालीमा असिनाले क्षति गरेको छ। भर्खरै उम्रँदै गरेको मकै, सिमी, आलु, काँक्रो, घिरौलालगायतका तरकारी र बालीका बिरुवामा समेत क्षति पुगेको कृषक देवी पुनले बताइन्।
सुन्तला जातका फलफूल र केरा खेतीमा पनि असिनाले क्षति गरेको छ। असिनाले गरेको क्षतिको विवरण संकलन भैरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ।
गएको असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस र माघभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापर खेती भने राम्रोसँग फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए।
अलिअलि भएको बाली समेत असिनाले नष्ट गरिदिँदा किसानहरु मारमा परेको उनले बताए। जिल्लामा सिँचाइ सुविधा पुगेको झन्डै ५ हजार हेक्टर जमिनबाहेक अधिकांश स्थानका कृषकहरु भने वर्षाको भरमा निर्भर रहनुपर्ने अवस्था छ।
कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ३५ देखि ४५ प्रतिशतसम्म कमी आएको छ। सबैभन्दा बढी तेलहन बालीमा असर परेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। त्यसबाहेक गहुँ, फापर, जौलगायत मौसमी तथा बेमौसमी तरकारी बालीमा समेत असर परेको छ।
विगत वर्षहरुमा ३/४ पटक हिमपात भैसक्ने म्याग्दीका उच्च लेकाली क्षेत्रहरुमा यो वर्ष भने चैत लागिसक्दा पनि हिमपात हुन सकेको छैन। जिल्लाका गुर्जा, मुदी, टाड्के, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका उच्च लेकाली क्षेत्रहरुमा हिमपात नहुँदा पशुपालक कृषकहरुलाई समस्या भएको छ।
बुकी र खर्कहरुमा हिमपात नभएपछि घाँस पलाउन नसक्दा पशुपालक कृषकहरुलाई समस्या भएको हो। समयमा नै हिमपात नहुँदा लेकाली क्षेत्रमा लगाइएको आलुलगायत हिउँदेबालीको उत्पादनमा समेत ह्रास आएको छ भने पशुलाई चरनको समस्या हुने देखिएको किसानहरुले बताएका छन्।