Trending
स्वदेशमा कुनै रोजगारी नभएको भन्दै धेरै युवायुवतीहरू विदेश पलायन भइरहेका छन् । स्वरोजगार बन्ने नेपालमा वातावरण नै नभएको भन्दै दैनिक हजारौँ युवा विदेश पलायन भइरहँदा सल्यान त्रिवेणी गाउँपालिका–५ मेलचौरका विष्णुबहादुर रावतले व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आइरहनुभएको छ ।
चार वर्ष साउदी र कतार बस्नुभएका रावतले त्यहाँ बालुवामा तरकारी फेलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती गर्नुभएको हो । परिवार पाल्नकै लागि चार वर्ष विदेशी भूमिमा बस्नुभएका रावतले अहिले आफ्नै घरमा वार्षिक ७ लाखभन्दा बढी चोखो आम्दानी गर्दै आउनुभएको छ ।
विदेशको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “विदेशमा बालुवामा पाँच फिट माटो राखेर तरकारी फलाइँदो रहेछ । नेपालमा तर बारीमा फाले मात्र पनि खान पुग्ने अन्नपात आउँछ ।”
रावतले तरकारीमा रासायनिक मलको सट्टा जैविक विषादी बनाएर प्रयोग गर्दै आउनुभएको छ । रासायनिक मल प्रयोग गरेको तरकारीले दीर्घकालीन रोग बढाउने बुझेपछि त्यसको बदलामा जैविक विषादीको प्रयोग थालेको उहाँको भनाई छ ।
रावतले २१ रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । आफ्नो ६ रोपनी र भाडामा १५ रोपनी गरी २१ रोपनीमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनु भएको हो ।
वार्षिक १ लाख १ हजार दिने गरी छिमेकीको १५ रोपनी जमिन भाडामा लिएको उहाँको भनाई छ । भाडामा लिएको जमिनमा १४ वटा प्लाष्टिक घर निर्माण गरी बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । खुल्ला आकाशमा भन्दा प्लाष्टिक घरमा तरकारी लगाउँदा रोग किराको संक्रमण कम हुनुका साथै बढी आम्दानी हुने गरेको रावतको भनाई छ । उहाँको टनेलभित्र टमाटर ब्रो काउली, धनियाँ, काउली, बन्दा लगायतका तरकारी रहेको छ ।
तरकारी बिक्री वितरणका लागि समस्या नभएको बताउँदै उहाँले ठूलो मात्रामा उत्पादन गर्न सकेमा बजारको समस्या कहिले नहुने उहाँले बताउनुभयो ।