Trending
नवलपरासी बर्दघाट सुस्तापूर्वमा च्याउखेती गर्ने कृषक मेहनत गरे आफ्नै ठाउँमा नै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ।
गैँडाकोट नगरपालिका–५ मा रहेको छत्राक एग्रो फार्मका सञ्चालक ६१ वर्षीय कर्णलाल श्रेष्ठ विगत दुई वर्षदेखि च्याउखेतीमा नै रमाइरहेका छन् । ‘केही गर्छु भन्ने इच्छाशक्ति भयो भने न त पैसाले रोक्दो रहेनछ, न त उमेरले नै छेक्दो रहेछ, मात्र काम गर्ने जोश, जाँगर चाहिँदो रहेछ’, ।
छ कट्ठा क्षेत्रफलमा तीन टहरा बनाएर ६५ लाख रुपैयाँ लगानीका साथ सुरु गरेको च्याउ खेतीले उनलाई मनग्य आम्दानी दिएको छ । श्रेष्ठले अहिले महिनामा कम्तीमा एक लाख रुपैयाँ आम्दानी गर्दै आएको बताए ।
‘छ कट्ठा जमिनको वर्षमा एक लाख रुपैयाँ भाडा तिर्ने गरेको छु, तर पनि आम्दानी राम्रो छ’, उनले भने, ‘वर्षमा कम्तीमा पनि २० हजार किलो च्याउ बिक्री गर्दै आएको छु, खर्च कटाएरै महिनामा कम्तीमा एक लाख रुपैयाँको व्यापार हुन्छ ।’
भौतिक संरचना निर्माणका लागि बढी रकम खर्च गरेको उनले बताए । पराल मौसमबाहेकका समयमा महँगो पर्ने भएकाले पनि पहिले नै किनेर राख्न र अन्य कामका लागि छुट्टै टहरा बनाएको श्रेष्ठको भनाइ छ ।
‘बाजेसँग अन्य व्यापार व्यवसायमा सामेल थिए, ३० वर्षपछि किसान हुन मन लाग्यो, अनि व्यापारभन्दा खेतीमा फाइदा देखेँ’, उनले भने, ‘गर्मी, जाडो दुवै मौसममा च्याउखेती गर्दै आएको छु, यसको बजार सजिलै र मुल्य राम्रो पाइन्छ ।’
उनलाई नगरपालिकाले पनि सहयोग गरेको छ । उनलाई पराल बफाउनका लागि आवश्यक पर्ने अटोक्लेव मेसिन नगरपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । स्टिलको १० लाख रुपैयाँको अटोक्लेव मेसिनमा पराल पकाइ बफाएर च्याउ उत्पादन हुने गरेको छ । ‘अरु व्यापार, व्यवसायभन्दा च्याउखेती राम्रो छ, ३० दिनमै उत्पादन दिन्छ, मुनाफा पनि धेरै हुन्छ’, ।
श्रेष्ठ जस्तै गैँडाकोट–१ मा अनिता च्याउ फार्मको नाममा अनिता न्यौपानेले च्याउखेती गर्दै आइरहेकी छिन् । सुरुमा च्याउखेती गर्न निकै गाह्रो महसुस भएको अनुभव उनले बटुल्दै जाँदा अहिले यसैलाई आम्दानीको स्रोत बनाएकी छिन् ।
कोरोनाको महामारीसँगै विदेशबाट श्रीमान् घर फर्केपछि परिवार नै मिलेर च्याउखेती सुरु गरेको उनले बताइन् । ‘श्रीमान् कोरोनाका कारण कतारबाट घर फर्किएपछि च्याउ खेती सुरु गरेको हो, सुरुमा त बिग्रियो, घाटा पनि लाग्यो पछि राम्रो हुँदै आयो’, उनले भनिन् ।
अन्य काममा जस्तै च्याउखेतीमा पनि मेहनत गर्नुपर्ने उनको भनाइ छ । बिहानदेखि राति अबेरसम्म च्याउकै हेरचाहमा व्यस्त हुने उनले चिसो समयमा बढी राम्रो हुने बताइन् । जाडो समयमा मासिक दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताइन् ।
गैँडाकोट–४ मा रहेको शिवशक्ति कृषक समूहले पनि सामूहिक च्याउखेती गर्दै आएको छ । पचास महिलाले तीन लाख रुपैयाँ लगानीबाट सुरु गरेको च्याउ फार्म पाँच टनेलमा छ । चार वर्षअघि नगरपालिकाको डेढ लाख रुपैयाँ सहयोगमा सुरु गरेको फार्मले सामूहिक एकतासँगै धेरै थोरै आम्दानी पनि गराएको समूहका अध्यक्ष सङ्गीता पण्डितले बताइन् ।
‘आएको नाफा समूहमा नै राखी सामूहिकरुपमा सञ्चालन गर्ने गरेका छौँ’, पण्डितले भनिन्, ‘निरन्तरको लगाव भए च्याउखेती आम्दानीको उपयुक्त माध्यम हुने रहेछ ।’ सो नगरपालिका क्षेत्रमा च्याउखेती प्रवद्र्धनका लागि नगरपालिकाले पनि सहायता प्रदान गर्ने गरेको छ ।
नगरपालिकाले विभिन्न समयमा अनुदान, किसानका लागि सहुलियत र अन्य कार्यक्रम सञ्चालन गरेर अगाडि बढेको नगरपालिकाको कृषि शाखाका नायब प्राविधिक सहायक सुरक्षा पौडेलले बताइन् । ‘नगरपालिकाले किसानका लागि सहयोग र अनुदानका कार्यक्रमसँगै प्रोत्साहन गरेको छ’, पौडेलले भनिन्, ‘अहिलेसम्म नगरपालिकामा जम्मा तीन च्याउ फार्म दर्ता छन् ।’ रासस