Trending
विन्टर सिर्जन (हिउँद मौसम) सक्किएसँगै आउँदो वसन्त ऋतुमा हिमाल आरोहण र पदयात्रा (ट्रेकिङ) गर्न बुकिङ गर्ने क्रम बढेको सम्वन्धित क्षेत्रका पर्यटन व्यवसायीहरुले जानकारी दिएका छन् । गत वर्षको तुलनामा यस वर्ष आरोहण र पदयात्राको लागि राम्रो बुकिङ आउने संकेत देखिएको एक्स्पेडिशन (आरोहण) कम्पनीहरुको भनाइ छ ।
इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुुटी शेर्पाले नजिकिँदो वसन्त ऋतुको लागि सुरु भएको बुकिङ उत्साहजनक रहेको बताउनुभयो । वसन्त मौसम चैत, बैशाख र जेठमा पर्छ । गत वर्षको तुलनामा यस वसन्त मौसममा धेरै विदेशी पर्यटकहरु आरोहण र पदयात्राका लागि आउने पूर्वसंकेत देखिएको उहाँले बताउनुभयो ।
शेर्पाले भन्नुभयो, ‘बुकिङ हेर्दा सगरमाथा आरोहणको लागि धेरै मात्रामा विदेशी आरोहीले इच्छा देखाएका छन् । कोरोना महामारीपछि चिनियाँ पर्यटकहरु खासै आउन रुचाएका थिएन् । तर यस पटकको वसन्तमा चिनियाँहरुको पनि राम्रो बुकिङ भइरहेको छ । यूरोपिनहरुको पनि राम्रै छ ।’ इमाजिन नेपालको बुकिङ सुरु भएर बन्द पनि भइसकेको शेर्पाले बताउनुभयो ।
एक्ट्रिम क्लामबर्स ट्रेक्स एण्ड एक्स्पेडिशन कम्पनीका प्रबन्ध निर्देशक पेम्बा शेर्पाले पनि वसन्त सिजनमा ट्रेक्किङका लागि विदेशी आरोहीहरुको बुकिङ यस बर्ष राम्रो रहेको स्वीकार गर्नुभयो । विदेशी आरोहीहरु नेपाल भित्रिने क्रम बढ्दो रहेको बताउँदै उहाँले चीनले पनि फागुनबाट सीमाना खोल्ने कुरा गरेको र यदि खोले अझै धेरै पर्यटक बढ्ने बताउनुभयो ।