विश्वकै सुन्दर रारातालमा गत वर्षभन्दा यो वर्ष ४० प्रतिशतले पर्यटक घटेका छन् । मुगुको सदरमुकाम गमगढीस्थित रारातालमा यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक ४० प्रतिशतले घटेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिनुभयो।
देशकै पर्यटकको मुख्य गन्तव्यको रूपमा रहेको रारामा पछिल्लो समय बाह्य देशका पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । यहाँको होटालका साथै कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा पर्यटकलाई आवयक सुविधा दिन नसकिएकाले बाह्य र आन्तरिक पर्यटक पनि घटेको उहाँको भनाइ थियो ।
रारातालको सौन्दर्यले पर्यटनलाई लोभ्याए पनि यहाँ आइपुगेका पर्यटकले राम्रोभन्दा नराम्रो कुराको सन्देश फैलाउँदा नयाँ आउने पर्यटकलाई पनि असर परेको छ । राजमार्ग हुँदै आउने पर्यटकले सडकको राम्रो व्यवस्था नहुँदा निकै सकस हुने गुनासो गरेका छन्,’ प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भन्नुभयो।
रारासम्म पर्यटकलाई सहजरुपमा पु¥याउन सके यहाँको आम्दानीमा निकै टेवा पुग्ने भएकाले स्थानीय र प्रदेश सरकारले यहाँको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो। राजस्व वृद्धिदर पनि यो आर्थिक वर्ष ३० प्रतिशतले घटेको निकुञ्ज कार्यालयले जनाएको छ ।
पर्यटकीय हबको रूपमा विकास भएको रारातालमा पर्यटकलाई आकर्षण गर्न यहाँका सरोकारवाला निकाय र स्थानीय सरकारको काँधमा जिम्मेवारी थपिएको स्थानीयवासीको भनाइ छ । राराभित्र प्रवेश शुल्क नेपालीका लागि प्रतिव्यक्ति १ सय, सार्क मुलकका नागरिकलाई १३ प्रतिशत भ्याटसहित १ हजार ५ सय र अन्य विदेशीलाई १३ प्रतिशत भ्याटसहित ३ हजार लाग्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।रासस