प्रत्येक वर्ष फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘आजको आवश्यकता स् सिमसार क्षेत्रको पुनस्र्थापना’ संकल्पका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिमसार दिवसको राष्ट्रियस्तरको कार्यक्रम चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न कार्यक्रम गरी मनाउन लागेको जनाएको छ ।
त्यस्तै प्रदेशका वन मन्त्रालय, संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयहरूले आ–आफ्नो स्तरमा दिवसका विभिन्न कार्यक्रम गरिरहेका छन् ।
सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नुका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ ।
विभागका महानिर्देशक डा. महेश्वर ढकालले सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्ने बताउनुभयो ।
पर्यटकका लागि पौडी खेल्ने, डुंगा चलाउनेदेखि सिमसार क्षेत्रमा पाइने चराचुरुंगी, वन्यजन्तुको अवलोकनलगायत प्राकृतिक सौन्दर्यको अनुभव सिमसारले उपलब्ध गराउने उहाँको भनाइ छ ।
पछिल्लो समय सिमसारको अत्यधिक दोहन, भूमि अतिक्रमण, प्रदूषण, पूर्वाधार निर्माण पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहँुदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको ढकालले जानकारी दिनुभयो ।
जलवायु परिवर्तनको असरले पोखरी सुक्दै गएका कारण पनि सिमसार क्षेत्र संरक्षणमा चुनौती थपिएको छ । वन तथा वातावरण मन्त्रालयले सिमसार क्षेत्रका चुनौतीलाई मध्यनजर गरी प्रदेश र स्थानीय तहसँगको समन्वयमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम तथा नीति अघि बढाएको जनाएको छ ।
विश्वको करिब ९ प्रतिशत र नेपालको करिब ५ प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण संघ नेपालको अभिलेखअनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् ।
सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतंग र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान हो । त्यस्तै नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये सिमसारमा १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्यांक छ ।
त्यस्तै २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् । विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि) सन् १९७१ फेबु्रअरी १ मा इरानको रामसार सहरमा भएको थियो ।
रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो । रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील संकटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्छ ।
हालसम्म यसमा आबद्ध देशको संख्या १७० पुगेको छ । साथै २ हजार ३१४ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन् १९८७ डिसेम्बर १७ का दिन नेपालले कोसीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको हो ।
रामसार सूचीमा नेपालका कोसीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बिसहजारी तथा आसपासका तालहरू, रारा ताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड तथा आसपासका तालहरू, गोक्यो तथा आसपासका तालहरू, माईपोखरी र पोखरा उपत्यका विभिन्न ताल सूचीकृत छन् । यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार ५६१ हेक्टर छ ।
विभागका उपमहानिर्देशक अजय कार्कीले सिमसार एक गतिशील, विविधतायुक्त र उर्वर पारिस्थितिकीय प्रणाली भएको बताउँदै सिमसार संरक्षणमा सरोकारवाल सबै लाग्नुपर्ने बताउनुभयो ।
सिमसार जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले मूल्यवान् प्राकृतिक प्रणाली भएको उल्लेख गर्दै उनले सिमसारले पानीको स्रोत संरक्षण गर्नुका साथै यसको बहाव र गुणस्तर कायम गर्ने बताउनुभयो ।
सिमसार क्षेत्रले सिँचाइ, मत्स्यपालन, पर्यापर्यटन, कृषि उत्पादकत्व अभिवृद्धिमा सहयोग पुर्याउनेलगायत जैविक विविधताको दिगो व्यवस्थापनमार्फत् अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ छ ।