Trending
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ नं क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न पुनः पहल थालिएको छ । यसअघिको अन्तिम प्रक्रिया नेपालस्थित मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा रहेको जनाइए पनि युनेस्कोको मापदण्ड पूर्णपालना गर्न बाँकी रहेकाले प्रक्रियागत रुपमा अघि बढ्ने नगरले जनाएको छ ।
ऐतिहासिक एवं पुरातात्त्विक पनौती युनेस्कोद्वारा २६ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । नगरले पनौती संरक्षित स्मारक क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मङ्गलबार स्थानीय सरोकारवालासँगको छलफलमा सूचीकृतको अन्तिम प्रक्रियाका लागि पहल गर्न नगरलाई सुझाव दिए । “ युनेस्कोको मापदण्डका लागि आवश्यक प्रक्रियामा सामेल हुँदैछौँ, लामो समयको प्रतीक्षापछि अब पनौती सम्पदामा सूचीकृत गराउनेछौँ”, नगरप्रमुख रामशरण भण्डारीले भन्नुभयो । युनेस्कोको मापदण्डअनुसार आवश्यक प्रक्रियाका लागि नगरले निरन्तर कार्य गर्नेछ ।
पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णयपछि युनेस्कोको फ्रान्सको पुरातत्त्व विज्ञ टिमले पुनः पनौतीको अनुगमन निरीक्षण गर्ने जनाइएको छ । सूचीकृतको प्रक्रियामा पनौतीमा ७२ वटा मौलिक नेपाली घर निर्माण भइरहेछ ।
नगरले सांस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालिम, होमस्टे (घरबास) सञ्चालन र पुरातात्त्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि उक्त निर्णयको आधारमा युनेस्कोले पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्नेछ । विश्वभर रहेका प्राचीन सम्पदाको पहिचान गरी त्यसलाई संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)ले निर्धारण गरेको मापदण्ड पूरा भएपछि विश्व सम्पदाको सूचीमा राख्छ ।
सूचीकृत हुनुपूर्व आवश्यक सम्पूर्ण प्रशासनिक प्रक्रिया सकेर एक वर्षअघिनै मन्त्रिपरिषद्मा ‘फाइल’ गरेको नगरले जनाएको थियो ।
सरकारले हालसम्म पनौतीसहित १५ ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पूयणमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आइएको छ ।
राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्त रुपमा बहिरहेको मान्यता छ । पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको व्यापारिक नगर बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ ।
नगरको संरक्षित क्षेत्रअन्तर्गत ऐतिहासिक पनौती सहरमा पुरानो शैलीका घर बनाइँदैछ । नगर कार्यालयले पुरानो शैलीका घर बनाउने स्थानीयवासीलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग गरेको छ ।