व्यावसायिक कृषिमा लागेका यहाँका किसानको आयस्तर बढेको छ । विगतमा व्यावसायिक धारणाको विकास नहुँदा खास आम्दानी लिन नसकेका कृषकको व्यावसायिक कृषिमा लागेसँगै आयस्तरमा सुधार भएको हो ।

यहाँका किसानले व्यावसायिकरुपमा तरकारी तथा नगदेबालीको उत्पादनबाट राम्रो आम्दानी लिन थालेका हुन् । स्थानीय तहले विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि उनीहरुमा थप व्यावसायिक धारणाको विकास भएको छ ।

आन्तरिकरुपमा खपत हुँदै आएको यहाँका कृषिउपज अहिले बाहिरका बजारमा समेत पुग्ने गरेको किसानको भनाइ छ । यातायातको सहज पहुँचले यहाँका किसानलाई कृषिउपजको बजारीकरणमा सहजता थपिएको छ । किसानले प्लाष्टिक टनेलमा खेती गरेर मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् ।

उत्पादन भएको तरकारीको बेचबिखन गर्न समस्या नरहेको व्यावसायिकरुपमा तरकारीखेती गर्दै आउनुभएका भोजपुर नगरपालिका–११ का किसान यामबहादुर तामाङले बताउनुभयो । उहाँले आफ्नो बारीमा प्लाष्टिक टनेलमा व्यावसायिकरुपमा तरकारीखेती गर्दै आउनुभएको छ ।

“व्यावसायिकरुपमा कृषि गरेमा राम्रो आम्दानी लिन सकिन्छ”, कृषक तामाङले भन्नुभयो, “मैले उत्पादन गरेको तरकारीको बजारीकरणमा समस्या छैन, केही तरकारी स्थानीय बजारमा बिक्री हुन्छ, यहाँ खपत नभएको तरकारी अन्य जिल्लामा समेत पठाउने गरेको छु, तरकारीबाट वार्षिक रु छ लाखसम्म आम्दानी लिन्छु ।”

यातायातको सहज पहुँचले तरकारीलाई बजारसम्म लैजान सहज भएको उहाँको भनाइ छ । मौसमी तथा बेमौसमी दुवै खालका तरकारी उत्पादन गर्दै आएको किसान तामाङको भनाइ छ । “मौसमीभन्दा बेमौसमी तरकारीले राम्रो मूल्य पाउने गरेको छ”, उहाँले भन्नुभयो, “वर्षात्को समयमा सडकका कारण बजारसम्म लैजान केही समस्या हुन्छ, अन्य समयमा आफ्नो घरमा ठेकेदार तरकारी खरिद गर्न आउछन् ।”

सडकको सहज पहुँचले कृषकको फार्मबाट सोझै कृषि उत्पादन बाहिरी जिल्लामा जाने अवस्था बनेको छ । व्यावसायिकरुपमा कृषिमा लागे जीवनपायन गर्न समस्या नरहेको किसानको भनाइ छ । राम्रो उत्पादन गर्नसके बेचबिखनका लागि कुनै समस्या नरहेको भोजपुर–५ का किसान कमला थापाले बताउनुभयो । “तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेकी छु”, उहाँले भन्नुभयो, “उत्पादन भएको कृषिउपज स्थानीय बजारमा खपत हुन्छ, यहाँ खपत नभएको सामग्रीलाई बाहिर पठाउने गरेकी छु ।”

भोजपुर–४ सिद्धेश्वरका २५ वर्षीय युवा कृषक गणेश विष्टले पनि तरकारी तथा व्यावसायिकरुपमा पशुपालन गर्दै आएको बताउनुभयो । इलामबाट उन्नत जातका गाई ल्याएर पशुपालन गरिरहेको उहाँको भनाइ छ । फार्मबाट उत्पादन भएको मललाई सदुपयोग गर्दै तरकारी तथा सुन्तलाखेतीसमेत गरिरहेको बताउनुभयो । उहाँले मौसमअनुसार तरकारी तथा अकबरे खुर्सानी उत्पादन गर्ने उहाँको भनाइ छ ।

विदेश जाने मोह त्यागेर आफ्नै ठाउँमा कृषिमा जुटेका विष्टले राम्रो आम्दानी गर्दै आएको बताउनुभयो । दावाँली कृषि तथा पशुपालन फार्म दर्ता गरेर उहाँ व्यावसायिक कृषिमा लाग्नुभएको हो । “कृषिमा भविष्य देखेर व्यावसायिकरुपमा लागेका छु”, कृषक विष्टले भन्नुभयो, “मेरो उमेरका धेरै साथी विदेशमा छन्, तर मैले कृषिमा लागेर वार्षिक रु तीनदेखि चार लाखसम्म आम्दानी लिँदै आएको छु, सुन्तलाको बगान विस्तार गरेको छु, त्यसले फल दिन थालेपछि मेरो राम्रै आम्दानी हुन्छ ।”

गाई फार्मबाट प्रशस्तमात्रामा प्राङ्गारिक मल निस्कने भएकाले सुन्तला तथा तरकारीखेती गर्न थप सहज रहेको विष्टको भनाइ छ । “चौध रोपनी क्षेत्रमा सुन्तलाको खेती विस्तार गरेको छु”, उहाँले भन्नुभयो, केही बोटले आम्दानी दिन थालेका छन्, अन्य बिरुवा हुर्कंदै छन्, भविष्यमा सुन्तलाबाट रु पाँचदेखि सात लाखसम्म आम्दानी लिने मेरो लक्ष्य छ ।” राज्यले कृषिमा लाग्ने युवालाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ ।

राज्यले कृषकले गरेको कामका आधारमा अनुदानको कार्यक्रम ल्याउनुपर्ने विष्टको धारणा छ । “राज्यको सहयोग खास किसानसम्म पुग्न मुस्किल छ”, उहाँले भन्नुभयो, “पहुँचका आधारमा अनुदान ल्याउने प्रथाको विकास भएको छ, यस्ता खालका कार्यक्रम सञ्चालन गर्दा वास्तविक कृषकसम्म पुग्न आवश्यक छ ।”

काम गर्नेभन्दा झोलामा बोकेका फार्मले बर्सेनि अनुदान पाउने गरेको उहाँको भनाइ छ । युवाको कृषि व्यवसायतिर मोह बढे पनि पहुँचका आधारमा अनुदान वितरण गर्दा वास्तविक कृषक मारमा पर्ने गरेको उहाँले बताउनुभयो ।

अरुण गाउँपालिकाका प्रेमकुमार राईले एभोकाडोको व्यावसायिक खेती गरिरहेको बताउनुभयो । करिब पाँच वर्ष विदेश बसेर आउनुभएका राईले आफ्नै देशमा केही गर्ने उदेश्यले एभोकाडोको व्यावसायिक खेती सुरु गरेको बताउनुभयो ।

राईको फार्ममा अहिले एक हजार छ सय बढी एभोकाडोका बिरुवा छन् । अबको केही वर्षबाट यसले उत्पादन दिन थाल्ने उहाँको भनाइ छ । यसबाट वार्षिकरुपमा रु ३० लाखसम्म आम्दानी लिने लक्ष्य राखेको राईको भनाइ छ । “स्वदेशमा केही गरौँ भनेर व्यावसायिक कृषिमा लागेको छु”, कृषक राईले भन्नुभयो, “आफ्नै ठाउँमा उदाहरणीय बन्ने मेरो लक्ष्य छ, मैले गरेको कामले अन्य युवा साथीहरुलाई समेत आकर्षित गरेको छ ।”

फलफूल खेतीसँगै जैविक तरकारीसमेत उत्पादन गरिरहेको राईको भनाइ छ । बजारमा विषादीयुक्त तरकारीको उत्पादनलाई कम गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । “हामीले कृषि उत्पादन गर्दा स्वास्थ्यको कुरालाई पनि ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो, “म आर्गानिक उत्पादनमा जुटेको छु, तरकारीमा प्राङ्गारिक मलको मात्र प्रयोग गर्छु, आर्गानिक तरकारीको बजारमा अत्यधिक माग छ, तरकारी बिक्रीबाट दैनिक जीवनयापन गर्न समस्या छैन ।”रासस

शुक्रबार, १३ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !