Trending
अमलाचौरका टीका सुदारा काठको काम गर्ने सीपका धनी छन् । साठी वसन्त पार गरिसक्दा पनि उनले दार (राम्रो काठ) का ठेका–ठेकीलगायत अन्य घरायसी सामान बनाउँछन ।
आफूले बनाएका कलात्मक ठेका–ठेकी बिक्री गर्न उनी माघेसङ्क्रान्ति मेला एवं सातौँं म्याग्दी महोत्सव बेनीमा उनी पनि पुगेका थिए । केहीदिनसम्म मेलामा बस्दा दुई जोडी ठेकाठेकी मात्र बिक्री भएपछि गाउँ फर्किनु परेकाे उनी सुनाउँछिन् ।
त्यस्तै, म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका सम्मरबहादुर विक बाँस र निगालाको चोयाँबाट कृषि घरेलु सामग्री बनाउँछन् । ६५ वर्षसम्म डोका, डाला, थुन्से, भकारी, मान्द्रलगायतका सामग्री बनाएर छ जनाको परिवारको खर्च चलेको थियो । तर अहिले रैथाने सीपबाट बनेका सामाग्री बजारमा खपत हुन छाडेका छन् । प्लास्टिकका आयातित सामाग्री सस्तोमा उपलब्ध हुने भएपछि हस्तकलाबाट निर्मित सामाग्रीको बिक्री रोकिएको हो ।
‘हामीसँग सीप छ, तर सीपको सम्मान छैन् । सिप प्रयोग गरेर बनाइएका सामग्री बिक्री गर्ने ठाउँ छैन’, सम्मरबहादुरले भने। पहिले घरखर्च गर्न समस्या नभएको तर अहिले आम्दानीको स्रोत नभएपछि ऋण गरेर खर्च गर्नुपर्ने उनले बताए । प्लास्टिकका सामग्रीको प्रयोग बढे्पछि आफ्नो सीप थला परेको उनको भनाइ छ ।
जङ्गलमा खेर गइरहेका काठ र बाँसको चोया आफ्नो सीपको प्रयोग गरी कृषि र घरायसी सामाग्रीहरु बनाउँदै आएका कैयौं व्यक्तिहरुको पेशा संकटमा परेको बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए । स्थानीय तहले स्थानीय उत्पादन र सीपलाई प्रोत्साहन गर्ने बताएपनि व्यवहारमा लागु हुन नसकेको स्थानीयको गुनासो छ ।
‘काम गर भनेर रकम सहयोग गरेर मात्र हुँदैन, हामीले उत्पादन गरेका कृषि उपज र सामाग्रीहरुको बजारीकरणको जिम्मा स्थानीय सरकारले लिनुपर्छ’ तरकारी खेतीसँगै चोयाँका सामाग्री बनाउदै आएका मालिका गाउँपालिका–५ का सुनबहादुर बूढाले भने । हातमा अन्य काम गर्ने सीप नभएका र उमेर बढी भएका जेष्ठ नागरिक आफ्नो सीप उपेक्षित हुन थालेपछि चिन्तित छन् ।
‘आफूले जानेको सीपबाट गुजारा चलेको थियो, तर अहिले सीप पनि हेंला हुन थाल्यो, बुढ्यौली पनि लाग्यो’, भकिम्लीका ६४ वर्षिय तेजबहादुर पुनले भने । पाँच वर्ष अघिसम्म दिनमा २ वटासम्म डोका बुन्ने गरेका पुन अहिले एक सातामा दुई÷तीनवटा मात्र बुन्ने गर्छन्।
केही वर्ष अघिसम्म हस्तकलाका सामाग्री बेचेर मासिक १० देखि १५ हजारसम्म आम्दानी गर्ने यहाँका पाका उमेरका केही व्यक्तिहरु अहिले आफुले बुनेका सामाग्री सिकुवा वा गोठमा थन्कीएका बताउँछन् । सीप पुस्तान्तरण भएन भनेर चिन्ता भन्दा अहिलेको अवस्थामा सीप प्रयोगहिन भएकामा चिन्ता छ उनीहरुलाई ।
‘हामीले जानेको सीप छोरा नातिले सिकेर के गर्नु रु सामान नै विक्री नभएपछि सीप छ भनेर मात्रै खान पाइँदैन, छोरा नातिलाई खाडीतिरै पठाउनुको विकल्प छैन्’, बेनी नगरपालिका–२ का भीमबहादुर विकले भने।
प्लाष्टिकका सामाग्रीको बढ्दो प्रयोग र परम्परागत सीपबाट सामग्री बनाउने पेसा अँगाल्ने जनशक्तिको कमिका कारणले पनि यो व्यवसाय संकटमा परेको स्थानीय बताउछन् ।