नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो ।

गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । यही माघ ५ गतेबाट भने दिउँसो १२ बजे देखि ४ बजेसम्म थप ३०  बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न सरोकारवालाको बैठकले काम नसकिएपछि दिन थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताउनुभयो ।

सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ ।

निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ । यसअघि भएको निर्णय अनुसार माघको ४ गते ३० दिन पुग्छ । पुसको ३० गते र माघको १ गते माघेसङ्क्रान्तिका कारण सवारी रोकिएको छैन ।

उहाँका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी छ । तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ, भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टि दुबै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ । तुइनको भित्तो ४५ मिटर अग्लो चट्टानी भीर रहेकाले काम गर्न कठिन भएको हो ।

काम गर्नका लागि बाटो बनाउन मात्रै एक हप्ता लाग्ने गरेको उहाँले बताउनुभयो । आयोजनाका प्रमुख किरण कार्कीका अनुसार यी पुलसँगै काम थालिएका नौ वटा पुल बनिसकेका छन् । यस अघिनै सो सडकका पाँच वटा पुल बनिसकेका थिए । पाँच  पुल निर्माणाधीन छन् । एउटा पुलको जगमा ६  घर टहरा रहेकाले राहत रकम निकासा नहुँदा काम थाल्न नपाएको उहाँले बताउनुभयो । विश्व बैंकको सहयोगमा गरिने काममा राहत अनिवार्य दिएर मात्र अतिक्रमण गरेर बसेकालाई हटाउनुपर्ने प्रावधान छ ।

यस्तै अन्य पुल रहेका ठाउँमा २० वटा घरटहरा  छन् । ती हटाउनका लागि रु. एक करोड हाराहारी राहत दिनुपर्ने हुन्छ । विसं २०७६ चैत १० गते ३३ महिनामा सम्पन्न गर्ने गरी रु. एक अर्ब २५ करोडमा ठेक्का दिइएको थियो । सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अवरोध पुगेको ठेकेदार कम्पनी अनक कन्ट्रक्सनले बताउँदै आएको छ । पहिलो सम्झौता अनुसार पुस ९ गते सम्झौता अवधि सकिएको छ । निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको छ ।

सो सडकको चौडाइ ९ देखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाइएको छ ।

बुधबार, ४ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे