पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डको काम नसकिएपछि समय थप गर्नुपर्ने देखिएको छ । यही पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ ।

सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ । अन्य दुई वटाको काम नसकिएपछि ठेकेदार कम्पनीले थप २१ दिनको समय माग गरेको छ । यसअघि भएको निर्णयअनुसार माघ ४ गते ३० दिन पुग्छ । पुसको ३० र माघको १ गते माघेसङ्क्रान्तिका कारण सवारी नरोकिने भएको छ । यो समयलाई थप गर्दा माघ ६ गतेसम्म सवारी बन्द हुनेछ ।

सूचना अधिकारी आचार्यका अनुसार ठेकेदार कम्पनीले माग गरेको समय दिएमा माघभरि नै सवारी आवागमन रोकिनेछ । उहाँका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ । तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टि दुवै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ । तुइनको भित्तो ४५ मिटर अग्लो चट्टानी भिर रहेकाले काम गर्न कठिन भएको हो । काम गर्नका लागि बाटो बनाउन मात्रै एक हप्ता लाग्ने गरेको उहाँले बताउनुभयो । थप २१ दिन समय पाएमा त्यसपछि यदाकदा एक डेढ घण्टा रोकेर काम गर्न सकिने आचार्यले बताउनुभयो ।

आयोजनाका प्रमुख किरण कार्कीका अनुसार यी पुलहरु सँगै काम थालिएका नौवटा पुल बनिसकेका छन् । यसअघि नै सो सडकका पाँचवटा पुल बनिसकेका थिए । पाँचवटा पुल निर्माणाधीन रहेका छन् । एउटा पुलको जगमा ६ वटा घरटहरा रहेकाले राहत रकम निकासा नहुँदा काम थाल्न नपाएको कार्कीले बताउनुभयो । विश्व बैंकको सहयोगमा गरिने काममा राहत अनिवार्य दिएर मात्र अतिक्रमण गरेर बसेकालाई हटाउनुपर्ने प्रावधान रहेको छ ।

यस्तै, अन्य पुल रहेका ठाउँमा २० घरटहरा रहेका छन् । ती हटाउनका लागि रु एक करोड हाराहारी राहत दिनुपर्ने हुन्छ । कार्कीले ठेकेदार कम्पनीले माग गरेको समयको विषयमा छलफल गरेर टुङ्गो लाग्ने बताउनुभयो । विसं २०७६ चैत १० गते ३३ महिनामा सम्पन्न गर्ने गरी रु एक अर्ब २५ करोडमा ठेक्का दिइएको थियो । सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अवरोध पुगेको ठेकेदार कम्पनी अनक कन्स्ट्रक्सनले बताउँदै आएको छ । पहिलो सम्झौताअनुसार पुस ९ गते सम्झौता अवधि सकिएको छ । निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले थप समय सवारी रोक्नुपर्ने आयोजनाले माग गरेको भए पनि टुङ्गो नलागेको बताउनुभयो । स्थलगत निरीक्षण र छलफलपछि के कति समय थप गर्नुपर्ने निर्णय गरिने बताउनुभयो । सो सडकको चौडाइ नौदेखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाइएको छ ।

बुधबार, २७ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे