काठमाडौं महानगरले ६० प्रतिशत आर्थिक सहयोग गर्ने भएपछि काठमाडौं महानगरमा स्मार्ट स्ट्रिट लाइट (सडक बत्ती) जडान गरिने भएको छ । महानगरलाई झलमल बनाइ पर्यटकलाई आकर्षित गर्न र सडकबत्तीलाई आधुनिक प्रविधियुक्त बनाउन स्मार्ट स्ट्रिट लाइटको व्यवस्था गर्न लागिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताउनुभयो ।
ललितपुर महानगर र भक्तपुर जिल्ला स्मार्ट लाइटको व्यवस्था यसअघि नै लागू भएको थियो । ‘यी दुई जिल्लाको आधारमा काठमाडौं महानगरले पहिले देखि नै यसको प्रस्ताव अघि सारिएको थियो । अहिले मेयर नै सहमत भएपछि स्मार्ट लाइट राख्ने प्रक्रिया अघि बढेको हो’ उहाँले भन्नुभयो ।
सडक बत्तीका लागि नेपाल विद्युत प्राधिकरणसँग महानगरले सम्झौता गरेको छ । जसअनुसार महानगरपालिकाले ६० प्रतिशत लागत व्यहोर्ने छ । विद्युत प्राधिकरणले ४० प्रतिशत लागत व्यहोर्ने भएको छ ।सम्झौताअनुसार पहिले काठमाडौंं महानगरका मुख्य सडकमा स्मार्ट बत्ती जडान गरिनेछ । पछि यसको प्रभावकारिताको पहिचान गरी अन्य सहायक सडकमा पनि बिस्तारै आधुनिक स्मार्ट स्ट्रिट लाइट (सडक बत्ती) जडान गर्दैजाने लक्ष्य रहेको महानगरका प्रवक्ता मानन्धरले बताउनुभयो ।
उहाँले भन्नुभयो, “महानगर र विद्युत प्राधिकरणसँग भएको सहमतिका आधारमा पहिले महानगरका मुख्य सडकमा स्मार्ट सडक बत्तीको जडान हुनेछ । यसको प्रभावकारिताको आधारमा अन्य सहायक सडकमा पनि बिस्तारै जडान गर्दै लानेछौँ ।”
यसअघि ललितपुर महानगरले पहिलो स्मार्ट स्ट्रिट लाइट जडानको पहिलो चरणको योजना पूरा गरेर दोस्रो चरणको काम सुरु गर्न लागेको छ । काठमाडौं महानगरले पनि ललितपुर महानगरले अपनाएको मोडेलअनुसार नै बत्तीहरू जडान गर्न लागेको हो ।