राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गर्नुभएको छ । १५ वर्षपछि भएको भेटमा डेढ घण्टा लामो कुराकानी भएको मिश्रले बताउनु भयो ।
आफू पत्रकार रहँदा २००७ मा ज्ञानेन्द्रलाई दुईपटक भेटेको स्मरण गर्दै मिश्रले त्यसपछि यो तेस्रो भेट भएको उल्लेख गर्नुभएको छ । भेटमा पूर्वराजा ज्ञानेन्द्र शालीनता, सौम्यता, समझदारी र देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको पाएको मिश्रले बताउनुभयो।‘ आफूले राजाबाट गल्ती भएन भनेर कहिल्यै नभनेको दाबी गर्दै गल्ती नगर्ने राजा संसारमा छँदै नभएको जिकिरसमेत गर्नुभयो ।
मिश्रले अपरिपक्व नेपाली राजनीतिकर्मीले एकछिनको आवेशमा राजासँग प्रतिसोध साँध्न २४० वर्षको संस्था फ्याँकेको आरोपसमेत लगाउनु भएको छ ।
मिश्रले चुनाव हारेका कृष्णप्रसाद सिटौला प्रयोग गरेर राजालाई हटाएकोसमेत दाबी गर्नुभएको छ । ‘२०६३ साल बैशाख ४ गते बसेको पुनर्स्थापित संसदको पहिलो बैठकले राजासँग भएको समझदारी अनुरूप राजसंस्थालाई निरन्तरता दिन जेठी छोरी पनि गद्दीको उत्तराधिकारी हुनसक्ने भनि गरिएको निर्णयको विपरित गएर। अनि चुनाव हारेर ‘जनप्रतिनिधि नै नरहेका’ कृष्णप्रसाद सिटौलालाई संविधानसभामा गणतन्त्रको प्रस्ताव फ्लोर गर्न दिएर।
संसद पुनर्स्थापना मार्फत आफ्नो गल्ती सच्याइसकेका राजालाई यसरी षडयन्त्र गरेर, विदेशीको प्रभावमा परेर, ढाँटेररछलेर गद्दीच्युत गरिएको थियो,’ मिश्रले भन्नु भएको छ, ‘त्यसपछि दर्जनौ स्वदेशी र विदेशी राजा जन्मिए। पृथ्वीनारायण शाहलाई सरापेर मार्क्स र माओलाई माला लाउन थाले।‘
अहिले नेपालमा नेपाली सेनाबाहेक सबै संस्था राजनीतिले बेस्सरी गिजोलिएको दाबी गर्नुभएको छ । ‘अहिलेका अधिकांश राजनीतिकर्मीलाई अन्तर्राष्ट्रिय भूराजनीतिको भूमरीमा पर्न लागेको नेपाल, नेपालभित्र बढ्दै गएको जातीय र धार्मिक संवेदनशीलता तथा नेपाली सेनाबाहेक राजनीतिले बेस्कन गिजोलिएका र लगभग पूर्णत क्षयीकृत भएका नेपालका सबै संस्थाहरूबारे मतलबै छैन,’ मिश्रले भन्नुभएको छ।
मिश्रले नेपाल कुनै बेला असफल राज्य हुन सक्ने दाबी गर्दै अभिभावकीय भूमिका खेल्न सक्ने संस्था राजसंस्था नै हुने दाबी गर्नुभएको छ । ‘नेपालजस्तो कमजोर र कुनै पनि बेला ‘असफल राज्य’ मा परिणत हुनसक्ने देशमा संकटको घडीमा अभिवावकीय भूमिका खेल्न सक्ने एउटा संस्था नराख्ने हो भने संकटमा फसिसकेपछि त्यो खोजेर पनि पाइँदैन। ढिलो भइसकेको हुनेछ,’ उहाँले थप भनेका छन्, ‘म पत्रकार हुँदा र राजा ‘राजा’ नै हुँदा सन् २००७ मा उहाँलाई दुईपटक भेटेको थिएँ। त्यसपछिको भेट यही नै हो। राजाको दिर्घायुको तथा देशको हितलाई हेरेर, विचारभन्दा माथि उठेर सबै पक्ष राजसंस्थाको छिटोभन्दा छिटो पुनर्स्थापनामा सहमत होउन् भन्ने कामना गर्दछु, यो नेपालका लागि मात्र नभएर, दक्षिण एशियाकै दिर्घकालीन हितमा हुनेछ।‘