Trending
जोखिमको पर्वाह नगरी मजदुरले बागलुङको घुम्टे लेकमा पदमार्ग बनाएका छन् । राम्चेढुङ्गादेखि पदमार्ग निर्माणका लागि कामदार वनमै बास बसे । बडिगाड गाउँपालिकाको फोर्सादेखि आएका मजदुरले महिनौँसम्म अप्ठ्यारोमा बसेर पनि काम गरेका हुन् ।
कठिन भौगोलिक अवस्थालाई छिचोलेर पदमार्ग बनाइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बताउनुभयो ।
चार वर्षअघि पदमार्ग निर्माण थालिएको थियो । अहिलेसम्म राम्चेढुङ्गादेखि तुलसीको मैरोसम्म तीन किमी पदमार्ग बनिसकेको छ । सबैभन्दा जटिल स्थल पार गरेर पदमार्ग बनाइएकोे उहाँले सुनाउनुभयो । दुई वर्षअघि ठूलासम्मादेखि गल्लाको घाँटीसम्म पदमार्ग बनाउन फोर्साली मजदुर खटिएका थिए ।
त्योबेला उनीहरु वनमै टहरो हालेर बसेका थिए । दैनिक बस्तीसम्म आवतजावत गर्न कठिनाइ हुने भएपछि वनमै बास बसेर काम गरिएको कामदार डिलबहादुर घर्तीले बताउनुभयो । टहरो हालेर बस्दा ओढ्ने, ओछ्याउने कपडादेखि खानलाई चाहिने सामान जुटाएर जाने गरिएको उहाँको भनाइ थियो ।
जोकोहीले जोखिमपूर्ण काम गर्न नसक्ने भएकाले निर्माणका क्षेत्रमा नाम कहलिएका फोर्साली मजदुरलाई झिकाइएको हो । ‘भौगोलिक कठिनाइ भएको ठाउँमा पदमार्ग निर्माण भइसकेको छ, अब गरिने काम केही सहज हुने भएकोछ’, अध्यक्ष थापाले भन्नुभयो, ‘थप बजेट व्यवस्था भएमा यसै वर्ष पदमार्गको काम सकिन्छ, स्रोत जुटाउन पहल गरिरहेका छौँ ।’
अप्ठ्यारो र भिरको ठाउँमा ‘रेलिङ’ राखेर पदमार्गलाई सुरक्षित बनाइएको उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेशको पर्यटन मन्त्रलायबाट छुट्याइएको पाँच लाख बजेटबाट यसपाली गल्लाको घाँटीदेखि तुलसीको मैरोसम्म पदमार्ग निर्माण गरिएको हो । अझै करिब दुई किमी पदमार्ग बनाउन बाँकी छ । त्यसका लागि थप ३० लाख बजेटको खाँचो छ ।
गलकोट–७ का वडाध्यक्ष राजबहादुर थापाले पदमार्गका लागि वडा र नगरबाट बजेट उपलब्ध गराउन पहल गर्ने बताउनुभयो । ‘छोटो दूरी भएकाले यो पदमार्ग हुँदै घुम्टे उक्लने पर्यटक बढ्छन्, जतिसक्दो चाँडो पदमार्गलाई पूर्णता दिनुपर्छ’, अध्यक्ष थापाले भन्नुभयो ।
पदमार्गमा स्थानीय सामग्री, सीप र प्रविधि प्रयोग भइरहेको छ । उक्त पदमार्गमा सङ्घ र प्रदेश सरकारको गरी हालसम्म ३५ लाख खर्च भइसकेको छ । भौगोलिक जटिलताका कारण पनि पदमार्ग निर्माणले बढी समय लिएको हो । उक्त पदमार्गले घुम्टेसहित आसपासका गन्तव्यस्थलको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।
पदमार्ग निर्माणको कामलाई गति दिएर बेलैमा सक्न स्थानीय तहसहित राज्यका निकायले यथोचित बजेटको प्रबन्ध हुनुपर्नेमा अध्यक्ष बस्नेतले जोड दिनुभयो । एकतीस सय १० मिटर अग्लो घुम्टेको लेक गण्डकी प्रदेशका एक सय १० पर्यटकीय गन्तव्यमध्येमा सूचीकृत छ । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने घुम्टे प्रदेशकै उदाउँदो पर्यटकीयस्थलमा पर्छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान पर्यटकलाई घुम्टेले लोभ्याउने गर्छ ।
घुम्टेको चुचुरोमा सिद्ध भैरवको मन्दिर छ । बर्सेनि वैशाख पूर्णिमामा त्यहाँ ठूलो मेला लाग्ने गर्छ । त्यहाँ पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । प्राकृतिकरूपले सुन्दर, हिमालमा देखिने सूर्योदय तथा सूर्यास्त अवलोकन, बहुमूल्य जडीबुटी, ऐतिहासिक मन्दिर, गुराँसे वन आदि घुम्टेका विशेषता हुन् ।
घुम्टेमा विगत एक दशकदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’समेत आयोजना हुँदै आएको छ । वसन्त याममा थरीथरीका गुराँसले घुम्टे ढकमक्क हुन्छ । यहाँको पर्यटन गुरुयोजना पनि निर्माणको चरणमा छ । गलकोट नगरपालिकाले घुम्टेदेखि तल देउरालीसम्म सडक पु¥याउन लगानी गरिरहेको छ ।
बागलुङ सदरमुकामदेखि ४५ किमि गाडीको यात्रापछि हटिया पुगिन्छ । हटियादेखि कच्ची सडकमार्फत एक घण्टामा टेउवा पुग्न सकिन्छ । टेउवाबाट पैदल अढाइरतीन घण्टामा घुम्टे पुगिन्छ । गलकोट–१० पाण्डवखानी र ताराखोला–३ हिलबाट पनि घुम्टे पुग्न सकिन्छ । रासस