गाउँघरमा गाईभैँसी पाल्नेका लागि काठको ठेकी र मदानी अनिवार्य जस्तै मानिन्छ । वैदेशिक रोजगारीसँगै बजार क्षेत्रमा बसाइँ सर्ने क्रम बढेपछि गाईभैँसी पाल्ने घट्दै गएका छन् । यसको असर ठेकी र मदानी बनाउने पेसा सङ्कटमा परेको छ ।

कास्कीको रुपा गाउँपालिका–७ हंसपुरका प्रेम विश्वकर्मा ठेकी र मदानी बनाउने परम्परागत पेसा अँगाल्दै आउनुभएको छ । तर बजार नपाएपछि उहाँ बिक्री गर्नका लागि बस्ती बस्तीमा पुग्नुहुन्छ । पच्चीसदेखि ५० वर्ष उमेरका ३० युवाले छवटा समूह बनाएर ठेकी र मदानी बनाउनका लागि कास्की, लमजुङ र तनहुँका विभिन्न गाउँ पुग्ने गरेको विश्वकर्माले बताउनुभयो ।

उहाँसहित ३२ वर्षीय राजकुमार विश्वकर्मा, ३३ वर्षीय अर्जुन विश्वकर्मा, २८ वर्षीय अञ्जित विश्वकर्मा र २६ वर्षीय भीमबहादुर विश्वकर्मा समूह बनाएर लमजुङको मध्यनेपाल नगरपालिका क्षेत्रमा बस्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “सबैले बराबर रकम उठाएर दैनिक उपभोग्य सामान किन्ने गरेका छौँ ।”

‘आफूहरुले बनाएको ठेकी र मदानी किन्न गाउँमै ग्राहक नआएपछि छ वटा समूह बनाएर कास्की, तनहुँ र लमजुङका विभिन्न गाउँमा बनाउने र त्यही बेच्ने गरेका छौँ’, उहाँले भन्नुभयो, ‘ठेकी बनाउन विभिन्न बस्ती जानुभन्दा पहिला कुन समूह कुन भेगमा जाने भन्नेबारे छलफल हुन्छ, सोही अनुसार हामी जाने गरका छौँ । एउटा समूहले एक दिनमा एक पाथी क्षमताको बढीमा दुई वटासम्म ठेकी बनाउने गर्दछौँ ।’

कटहर, दार र खमारी प्रजातिको काठको ठेकी, मदानी राम्रो र टिकाउ हुने भएकाले आफूहरुले त्यसकै बनाएर दिने गरेको अर्जुन विश्वकर्माले बताउनुभयो । “गाउँ गाउँ गएका विभिन्न समूहसँग नियमित सम्पर्क भइरहन्छ, के कति ठेकी र मदानी बनाइयो वा बनाउने ?, व्यापार व्यवसाय कस्तो भयो भन्नेबारे मोबाइलबाटै सोधीखोजी गर्छौँ”, उहाँले भन्नुभयो ।

हंसपुरमा एक सय ४० मध्ये ६० परिवार विश्वकर्मा जातीका छन् । ठेकी र मदानी बनाउने उनीहरुको परम्परागत व्यवसाय भएको विश्वकर्माले बताउनुभयो । ‘गाउँमा बाबुबाजेले यही पेशा गर्दै आउनुभएको थियो’, स्थानीय रामबहादुर विश्वकर्माले भन्नुभयो । समूहगत रुपमा छलफल भएअनुसार आफूहरु कास्कीको उत्तरी भेगका विभिन्न बस्तीमा जाने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । रामबहादुरले भन्नुभयो, ‘समूह बनाएर बाँडिएर फरक–फरक गाउँ पुग्दा व्यापार पनि सहज हुन्छ । हामीबीच प्रतिस्पर्धाको भावना पनि हुँदैन ।

केही व्यापारीले कमसलखालका ठेकीलाई राम्रो काठबाट बनेको भनेर झुक्काउने गरेकाले आफूले गाउँमै आएर बनाउनेहरुसँग किन्ने गरेको मध्यनेपाल नगरपालिका–४ रम्घाका श्रीकृष्ण सोतीले बताउनुभयो । एक पाथी क्षमताको ठेकीलाई रू तीन हजार तिरेको उहाँको भनाइ छ ।

‘ठेकी किन्दा राम्रो काठको हेर्नुपर्छ । तर राम्रो भनेर दुई वर्षअघि किनेको फुट्यो’, सोतीले भन्नुभयो, ‘त्यसैले अहिले कटहरको काठको ठेकी आँखैअघि बनाउँदै गरेको किनेको छु । अब भने ५/७ वर्ष केही नहोला भन्ने ठानेको छु ।

आफूहरुले परम्परागत रुपमा गर्दै आएको पेसालाई व्यावसायिक बनाउने सोच भए पनि लगानी अभावका कारण उद्योग दर्ता गर्न नसकिएको ३३ वर्षीय राजकुमार विश्वकर्माले बताउनुभयो । गाउँका अधिकांश व्यीक्त साक्षर मात्र छन् । एसइई उत्तिर्ण गरेका केही युवा खाडी पसेका छन् भने केही युवा गाउँमै खेतीपाती र ठेकी, मदानी बनाउने पेसामा संलग्न रहेको उहाँको भनाइ छ ।

यसरी समूह बनाएर हिँड्नेले ठेकी र मदानी बाहेक काठको गिलास, कचौरा र कपसमेत बनाउने गर्दछन् । ठेकी प्रतिमाना रू चार सय तथा गिलास, कचौरा र कप आकारका आधारमा एक हजारदेखि रु दुई हजार पाँच सयसम्ममा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । काठका यस्ता सामान बनाउँदा विभिन्न सामग्रीको आवश्यकता पर्दछ । यसरी विभिन्न काठका सामग्री उत्पादन गर्ने गरेका भए पनि बजार तथा उचित मूल्य पाउन भने समस्या हुने गरेको व्यवसायी बताउँछन् ।रासस

शनिबार, १४ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !