Trending
पोखरामा निर्माण सम्पन्न भएको क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले आगामी जनवरी १ अर्थात् पुस १७ गतेदेखि औपचारिक रुपमा विमानस्थल सञ्चालनमा ल्याउने भएको हो ।
क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको पोखरा विमानस्थल सञ्चालनकै दिन आन्तरिक उडान मात्रै हुने भएका छन् । बुद्ध एयरले पहिलो उडान पोखरा–बनारसको तयारी गरेको भएपनि भारतले अनुमति नदिँदा उडान अन्यौल बनेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका ३ गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको छ ।
पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’ बाट हुनेछ । विमानस्थलको पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय उडान र अवतरण हुनेछन् भने आन्तरिकतर्फ रन–वेको दुवैतर्फबाट उडान तथा अवतरण गर्न मिल्ने क्यानको भनाइ छ ।
विमानस्थलमा साना र ठूला गरी ११ वटा विमान पार्किङ गर्न सकिन्छ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गर्ने क्यानको तयारी छ । विमानस्थलसँग वार्षिक ८ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता छ ।
प्राधिकरणका अनुसार यसअघि भएको यान्त्रिक परीक्षण (क्यालिब्रेसन) उडानको प्रारम्भिक प्रतिवेदन आइसकेको छ ।