Trending
जैन धर्मवालम्वीहरुले आज बिभिन्न कार्यक्रम गरी विश्व णमोकार दिवस मनाएकाछन् ।
जैन धर्मका प्रर्वतक महावीर जैन निकेतनको सम्झनामा सामुहिक जिनेन्द्र आरधना संस्थाले काठमाडौको जैन भवनमा णमोकार दिवस मनाएको हो ।
विश्व शान्तिको कामना गर्दे अहिंसा र सत्यको बाटो ग्रहण गर्न आग्रह गर्दे जैन समुदायले णमोकार दिवस मनाएको सामुहिक जिनेन्द्र आरधना संस्थाका अध्यक्ष सुभाष अनिता जैनले जानकारी दिनुभयो ।
भारतबाट नेपाल आउनु भएका आचार्य श्री महाश्रमण विदुषी शिष्य श्रमणी निर्देशीका विपुल प्रज्ञाजी, श्रमणी श्री आदर्श प्रज्ञाजीले सामुहिक नमोकार आरधनासहित भक्तिपाठ वाचन गर्नु भएको थियो ।
कार्यक्रममां पूर्व न्यायाधीश गिरीश चन्द्र लालले अहिंसा र सत्यको मार्ग दर्शनकोलागि जैन धर्मवालम्बिहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले सबै धर्मवालम्बिहरुले बिश्व शान्तिकोलागि सहकार्य गर्दे अगाडी बढ्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
त्यसैगरी दीप प्रज्वलनकर्ता महावीरप्रसाद, महामन्त्री राम डोली रामपुरीयाले पनि अहिंसा र मानव सत्कर्मको बाटोमा लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रमका अध्यक्ष सुभाष अनिता जैनले विश्व भाईचारा र शान्तिको कामना नै विश्व णमोकार दिवसको सन्देश भएको बताउनुभयो ।