Trending
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई उडानमा हुँदै आएको ‘कार्टेलिङ’ अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ ।
आन्तरिक उडान गर्दै आएका बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सले आपसी मिलेमतोमा आफूखुसी हवाई भाडादर निर्धारण गरेपछि मन्त्रालयले अध्ययनका लागि प्राधिकरणलाई निर्देशन दिएको हो । आन्तरिक उडान गर्ने कम्पनीले हवाई उडानमा कार्टेलिङ गरिरहेको सूचनाका आधारमा अध्ययन अगाडि बढाउन निर्देशन दिएको मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेले बताउनुभयो ।
आन्तरिक हवाई कम्पनीले गर्दै आएको कार्टेलिङको राष्ट्रिय योजना आयोगले समेत अध्ययन गरिरहेको बताइएको छ । हवाई कम्पनीको कार्टेलिङको अध्ययन गर्न आयोगका सदस्य डा रामकुमार फुयाँलको नेतृत्वमा कमिटी बनेको छ । आयोगका तत्कालीन उपाध्यक्ष डा. विश्व पौडेलले सार्वजनिक यातायातको क्षेत्रमा भइरहेको सिन्डिकेट र कार्टेलिङको अध्ययन अघि बढाउँदै त्यसको जिम्मा फुयाँललाई दिनुभएको बताइएको छ ।
मिलेमतोका आधारमा टिकट बिक्री गरेर कार्टेलिङको साम्राज्य खडा गरेको बताउँदै यो विषयलाई गम्भीर रुपमा लिएर अध्ययन अघि बढाइरहेको आयोगले जनाएको छ । नेपाल सरकारले तोकेको न्यूनतम र अधिकतम भाडादरलाई आधार बनाएर वायुसेवा कम्पनीहरूले कार्टेलिङ गरिरहेको आरोप लागेको छ ।
अहिले कुनै पनि सेक्टरमा उडान गर्ने सबै कम्पनीको हवाई भाडा एउटै कायम रहेको पाइएको छ । रासस