Trending
पर्वतको कुश्मा नगरपालिका १४ आर्थरडाँडाखर्क बसाइसराइले गाउँ नै रित्तिँदै गएको छ भने खेतबारी बाँझो हुँदै छन् ।
वर्षेनी बाँझो जमिन बढ्ने क्रम बढेपछि वडा कार्यालयले नयाँ योजना अघि सारेको छ । वडा भित्र खाली र बाँझो रहेको जमिन उपयोगमा ल्याउन लागेको हो । खाली र बाँझो जमिनमा चिया खेतीका लागि सम्भाव्यता अध्ययन गर्न थालिएको वडा अध्यक्ष रुद्रमोहन रिमालले जानकारी दिनुभयो ।
प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेको घना जङ्गल मुनि रहेको उक्त गाउँमा परीक्षणका लागि केही व्यक्तिले लगाएका चियाका बोट हुर्किँदै गएपछि चिया खेती राम्रो हुने आँकलन गर्दै सम्भाव्यता अध्ययन गर्न थालिएको अध्यक्ष रिमालले बताउनुभयो ।
वडा कार्यालयको अनुरोधमा कार्यालयको टोलीले आर्थरडँडाखर्कका सबै क्षेत्रमा चिया खेतीको सम्भावनाको अध्ययन थालेको हो । गाउँमा बसाइसराइका कारण खाली जमिन बढ्दै गएको र गाउँको सौन्दर्ययतामा समेत ह्रास आउन थालेका कारण बाँझो जमिनको उपयोग गर्न लागिएको अध्यक्ष रिमालले बताउनुभयो । आर्थरमा चिया खेतीको बिस्तार हुन सकेमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नमा सहयोग पुग्ने स्थानीय इन्द्र गुरुङले बताउनुभयो ।
बाँझो जमिन उपयोग गरेर यहाँका युवाहरूलाई गाउँमै कमाउने र गाउँमै रमाउने वातावरण सिर्जना गर्न सकेमा बसाइसराइ दर कम हुने उहाँको भनाइ छ।