Trending
जुम्लामा पुर्ख्यौली पेसा राडीपाखी व्यवसाय लोप हुने अवस्थामा पुगेको छ ।
केही वर्षअघि ऊनबाट बुनेर लिउ, फेरुवा, बक्खु, राडिपाखी, लगायतका उत्पादनले कपडाको सबै माग धान्ने गरेको थियो । अहिले आधुनिक कपडाको उत्पादन र प्रयोग बढ्दै गएपछि पुर्ख्यौली पेसा संकटमा पर्दे गएको छ ।
युवापुस्तामा राडीपाखीप्रतिको अरुचीले गर्दा पनि पेसा नै संकटमा परेको बूढापाकाहरुको भनाई छ । भेडा र बाख्रापालन व्यवसाय बिस्तारै लोप हुन थालेपछि राडीपाखी बुन्नका लागि आवश्यक ऊन पनि अभाव हुन थालेको छ ।
ऊनको कपडा परम्परागत तरिकाले बुनिँदा र आधुनिकतातर्फ यसलाई लिन नसकिनु यो व्यवसाय नफस्टाउनुको कारण भएको स्थानीय कृष्ण रोकायाले बताउनुभयो ।
पुरानै शैलीमा राडीपाखी बुन्नका लागि प्रविधिको अभाव र धेरै मेहनत गर्नुपर्ने भएकाले ऊनको कपडा बनाउन महिनौं समय लाग्ने गरेको छ ।
राडिपाखीको मूल्य पनि महँगो हुँदै गएकाले प्रयोगमा कमी आएको उहाँको भनाई छ । पुरानो कपडाका रुपमा पहिचान बनेको राडीपाखी उद्योगलाई प्रवर्द्धन गर्न स्थानीय बासिन्दाले सरकारसंग माग गरेकाछन् ।