राष्ट्रपति विद्यादेवी भण्डारीले ७४‌औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले मानवअधिकार र लोकतन्त्रका आधारभूत मूल्य र मान्यताहरू कुनै भूगोल विशेषमा मात्र सीमित नभई विश्वव्यापी हुन्छन् भन्ने अवधारणालाई मानवअधिकारको विश्वव्यापी घोषणापत्रले स्थापित गरेको बताउनुभयो ।

उहाँले मानवअधिकारको विश्वव्यापी घोषणापत्रका आधारमा मानवीय मूल्यहरूको विकास भई न्यायपूर्ण‚ स्वतन्त्र र स्वस्थ प्रतिस्पर्धामा आधारित सामाजिक प्रणालीभित्र हरेक व्यक्तिले आफ्ना लागि अवसर र उन्नतिको बाटो तय गर्न सक्दछ भन्नुभयो ।

नेपालको संविधानले सुनिश्चित गरेका मौलिक अधिकारहरू मानवअधिकारका व्यापकतम अवधारणामा आधारित छन् भन्नुहुँदै राष्ट्रपति भण्डारीले मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेख भएका विषयहरूलाई नेपालको संविधानले अझ विस्तार र विकास गर्न योगदान गरेको बताउनुभयो ।

उहाँले नेपाल मानवअधिकार सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पक्ष राष्ट्र समेत भएकाले मानवअधिकारको संरक्षण‚ संवर्द्धन र परिपूर्तिसम्बन्धी दायित्वप्रति सदैव प्रतिबद्ध रहिआएको भन्नुहुँदै यसैको फलस्वरूप नेपाल संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यका रूपमा समेत निर्वाचित भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले संवैधानिक उत्तरदायित्व एवं विश्व समुदायको सम्मानित राष्ट्रका रूपमा मानवअधिकारसम्बन्धी दायित्व निर्वाह गर्न संविधानले व्यवस्था गरेका राष्ट्रिय मानवअधिकार आयोगसहित विभिन्न विषयगत संवैधानिक आयोगहरू समेत नेपालमा क्रियाशील रहेको बताउनुभयो ।

उहाँले संविधान प्रदत्त अधिकारहरूको उपभोग र कर्तव्यहरूको पालनाका लागि राज्यका निकायहरूको भूमिका मात्र पर्याप्त हुँदैन भन्नुहुँदै यसका लागि समाजका हरेक क्षेत्र र पक्षहरू जिम्मेवार र जबाफदेही हुन आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सामाजिक सङ्घसंस्थाहरू तथा निजी क्षेत्रको सामूहिक सक्रियताबाट सीमान्तकृत र बन्चितीकरणमा परेका भूगोल तथा समुदायहरूलाई मानवअधिकारको प्रत्याभूति गराउन सकेमा मात्र आजको अन्तर्राष्ट्रिय मानवअधिकार दिवसले सार्थकता पाउने बताउनुभयो ।

उहाँले व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानवअधिकारको महत्त्वपूर्ण पक्ष आर्थिक‚ सामाजिक तथा सांस्कृतिक अधिकार भएको बताउनुहुँदै आजको विश्वमा न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्न राष्ट्रहरूको ध्यान केन्द्रित भइरहेको सन्दर्भमा नेपालले पनि संविधानको मार्गदर्शनमा आर्थिक‚ सामाजिक तथा सांस्कृतिक अधिकारको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिनुपर्ने बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।

यस वर्ष “सबैका लागि सम्मान, स्वतन्त्रता र न्याय” भन्ने मूल विषयसहित नेपालमा पनि विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँदै छ ।

शनिबार, २४ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे