Trending
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजीत एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। मन्त्री कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताउनुभएको हो । उहाँले देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकहरुको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसायहरु खोलेर रोजगारीको वातावरण मिलाउनुपर्ने बताउनुभयो । मन्त्री कुँवरले नेपालमा रहेका कम्पनीहरुमा काम गर्ने नेपाली मजदुरहरु भन्दा विदेशीहरु बढीरहेको भन्दै नेपाली श्रमिकहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्न सरकार पछिल्लो समय लागिपरेको बताउनुभयो ।
उहाँले गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० श्रम स्वीकृति लिएर विदेश गएको तथ्यांक रहेको बताउनुभयो । उहाँले लुकेर र भिजिट भिसामा विदेशमा गइ काम गर्नेहरुका लागि कुनै समस्या परे राज्यले दिने सेवा, सुविधा नपाउने उल्लेख गर्नुभयो । मन्त्री कुँवरले भिजिट भिसामा विदेशमा काम गर्न जाने श्रमिकहरुको नियमन गर्न नसकेको बताउनुभयो । उहाँले गत ३ वर्षको तथ्यांकअनुसार ४६ लाख नेपाली नागरिकहरु विदेश गएको बताउनुभयो । नेपालको कुल जनसंख्यामध्ये झन्डै आधा जनसंख्या विदेशमा रोजगारीको लागि गएको भन्दै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा गम्भीर हुन आवश्यक रहेको बताउनुभयो।
मन्त्री कुँवरले श्रम मन्त्रालयबाट विदेशबाट फर्किएकाहरुका लागि पुनः एकीकरणको कार्यक्रम ल्याइएको भन्दै कार्यक्रमलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कोषको दायरालाई बढाउनसके १० लाख सम्मको रोजगारी स्वदेशमा नै सिर्जना गर्नसक्ने दावी गर्नुभयो । मन्त्री कुँवरले स्वदेशमै उत्पादन बढाउन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।