गएराति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ ।

मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको रातिदेखि नै उद्धारमा खटिनुभएका बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिए ।

उनले भने, “राती १२ बजे बागमती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले सुकुम्वासी बस्ती डुबानमा परेको जानकारी दिएपछि उहाँसहित हाम्रो टोली रातिदेखि नै बस्तीमा पसेर उद्धारमा खटियौँ, दुईवटा डोजर ल्याएर पर्खाल भत्काएर पानी बाहिर पठाउने र बस्तीको बासिन्दाको बिहानसम्म हामी उद्धारमै खटिएका छौँ ।”

चाँगुनारायण उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका कासिछ्वाले मध्यराति बस्तीमा ज्यान जोगाउन भागाभाग मच्चिएको बताउँदै कोही अरनिको राजमार्गको सडकमा आइपुगेका र कोही घरको छतमा बसिरहेको पाइएको बताए । राति नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पनि उद्धारमा खटिएको उनले जानकारी दिए ।

सुकुम्वासी बस्ती डुबानमा पर्दा घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान नष्ट भएको, यहाँका कुखुरा र बङ्गुर बगाएको तथा अहिले बिहान खानेकुरासमेत नभएकाले राहतको व्यवस्था गर्नु जरुरी रहेको उनले बताए । बस्तीभित्रका बालबालिका र ज्येष्ठ नागरिक बढी मारमा परेको बताउँदै उनले भने, “यहाँको अवस्था बिजोग छ, पानी पर्नेबित्तिकै बस्तीको बासिन्दा त्रासमा बस्नुपर्ने, सुकुम्वासी बस्तीको समस्या समाधानमा सरकारले चासो दिनुपर्ने आवश्यकता देखियो ।”

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले मध्यपुरथिमि नगरपालिका–१ र २ का मनहरा नदीको सुकुम्वासी बस्तीमा भएको डुबानमा क्षतिको विवरण सङ्कलन कार्य भइरहेको बताए । उनले बस्तीमा लत्ताकपडा, खाद्यान्न र अन्य सामानमा क्षति पुगेको, पशु चौपाया बगाएको तर मानवीय क्षति भने नभएको बताए ।

उनले मनोहरा नदी किनारामा दिव्यश्वरी प्लानिङमा बस्ने अम्मर लामाको बङ्गुरफार्मबाट प्रहरीले पाँस सय हाँस, दुई सय बङ्गुर र दुईवटा गाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए । त्यस्तै मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खस्दा खोलाको धार परिवर्तन भई ८० घरटहरामा पानी पसेको उनले जानकारी दिए ।

सानोथिमितर्फको मनोहरा नदी किनारमा सिन्धुली कमलामाई नगरपालिका–७ घर भई हाल सानोथिमि दिव्यश्वरी प्लानिङस्थित टहरामा बस्ने पेमा तामाङको टहरामा रहेको २६ बोरा चामलमा क्षति भएको र गिरीराज कुखुराका ४५ चल्ला बगाएको उनले जानकारी दिए । सुकुम्वासी बस्तीको क्षतिको विवरण सङ्कलन कार्य प्रहरीले गरिरहेको उनले बताए ।

यता चाँगुनारायण नगरपालिका-४ मा मनोहरा खोला निलोपुल नजिक सुनसरी घर भई सोही स्थानमा बङ्गुरफार्म सञ्चालन गरेका हरि राईको बङ्गुरफार्मबाट चार बङ्गुर बगाएको प्रनाउ पाण्डेले जानकारी दिए ।

चाँगुनारायण–१ दुवाकोट बेँसी मनोहरा खोला किनारका २० घरटहरामा पानी पसेको र एक टहरामा बस्ने चार जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए । बाढी र पहिराको जोखिम बढेकाले सचेत रहन उनले आग्रह गरे ।

बुधबार, २५ साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !