Trending
सत्तारुढ गठबन्धनका पाँच दलले चुनावी गठबन्धन गर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।
बैठकपछि जारी संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गर्यो ।’
विज्ञप्तीमा कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन ।
यसैबीच सिट बाँडफाँटको गृहकार्य गर्न ११ सदस्यीय कार्यदलसमेत बनेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् ।
यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिमसातासम्म सिफारिस गर्न भनिएको छ ।