Trending
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएको जनाएको छ ।
मंगलबार आयोगमा निर्वाचन परिणाम तथा खर्च सार्वजनिकरणका लागि पत्रकार सम्मेलन गर्दै आयोगले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको खर्चबारे जानकारी गराएको हो ।
आयोगले खर्च नभएको ३ अर्ब ६ करोड ९६ हजार करोड १२४ रुपैयाँ खर्चका लागि सरकारले उपलब्ध गराएको रकमबाट बचेको बताएको हो ।
सरकारले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ खर्च छट्याएको थियो । निर्वाचन परिणाम तथा खर्च सार्वजनिक गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यो निर्वाचनमा प्रति मतदाता खर्च ४९३ रहेको बताए ।
यस्तै स्थानीय तह निर्वाचनमा लोकप्रिय मतमा नेपाली कांग्रेस पहिलो दल भएको आयोगले बताएको छ ।
आयोगद्धारा सार्वजनिक मत विवरणमा नेपाली कांग्रेसले दोस्रो स्थानमा रहेको नेकपा एमालेले भन्दा करिब एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको उल्लेख गरेको छ ।
आयोगले वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा दलहरुको लोकप्रिय मतको गणना गरेको छ । आयोगको विवरण अनुसार नेपाली कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको छ । त्यस्तै नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ । कांग्रेसले पाएको मत ३४.२८ र एमाालेले पाएको मत ३३.०३ प्रतिशत रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार नेकपा माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाएको छ । जनता समाजवादी पार्टीले पाँच लाख ७७ हजार ३८०, नेकपा एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ६४ हजार १६० मत पाएको छ ।
माओवादी केन्द्र १३.०३, जसपाले ५, एकीकृत समाजवादीले ३.६६ र राप्रपाले ३.१६ प्रतिशत मत पाएका आयोगले जनाएको छ ।
यस्तै स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष पदमा भने एमालेले सर्वाधिक मत प्राप्त गरेको छ।
एमालेले नगरपालिका प्रमुखमा ३४ दशमलब ५८ अर्थात २३ लाख ४८ हजार ७ सय ९ मत प्राप्त गरेको छ। उपप्रमुखमा ३६ दशमलब २५ प्रतिशत अर्थात २२ लाख ७० हजार ३ सय २४ मत ल्याएको आयोगले जनाएको छ।
त्यसैगरी गाउँपालिका अध्यक्षमा एमालेले ३३ दशमलब १४ प्रतिशत र उपाध्यक्षमा ३३ दशमलब ३९ प्रतिशत मत ल्याएको आयोगले जनाएको छ।
नेपाली कांग्रेसले प्रमुखमा २२ लाख ७९ हजार ३ सय ६३ अर्थात ३३ दशमलब ५६ प्रतिशत मत ल्याएको आयोगले जनाएको छ । उपप्रमुखमा उसले २४ दशमलब २ प्रतिशत मत प्राप्त गर्यो।
कांग्रेसले गाउँपालिका अध्यक्षमा ३३ दशमलब २ र उपाध्यक्षमा ३० दशमलब ०७ प्रतिशत मत प्राप्त गरेको आयोगले जनाएको छ।
त्यस्तै नेकपा माओवादी केन्द्रले प्रमुखमा ६ लाख २७ हजार ६ सय ९३ अर्थात् ९ दशमलब २४ र उपप्रमुखमा ९ लाख ४९ हजार ८ सय ५८ अर्थात् १५ दशमलब १७ प्रतिशत मत ल्याएको छ । उसले गाउँपालिका अध्यक्षमा १५ दशमलब ९८ र उपाध्यक्षमा १७ दशमलब ६६ प्रतिशत मत ल्याएको आयोगको तथ्यांक छ।
वडागत मत विवरण :
प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको मत विवरण