Trending
काठमाडौँ महानगरबासी आज साउन १ गतेदेखि घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ ।
महानगरले एक सूचना जारी गर्दै यदि घरमै कुहिने र नकुहिने फोहोर नछुट्याएमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक ५ सय रुपैयाँ जरिवानासमेत गर्ने जनाएको छ ।
महानगरको वातावरण विभाग प्रमुख सरिता राईले आजदेखि घर, कार्यालय, पसल, रेष्टुरेन्ट र कलकारखानाबाट निस्किने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर अलग–अलग भाँडोमा राख्नुपर्ने बताइन् । त्यसरी छुट्याइएको फोहोरलाई मात्र फोहोर संकलन गर्न आउने गाडीमा पठाउनुपर्ने उनले बताइन् ।
अब हप्तामा दुई दिन आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिनेको फोहोर संकलन र व्यवस्थापन गर्ने वातावरण विभागले जनाएको छ ।
महानगरले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको थियो ।
सिसडोलबासीले अहिलेकै अवस्थामा फोहोर आएमा राख्न नदिइने बताएका थिए ।
यद्यपि अहिलेसम्म पनि थुप्रेका र कुहिने नकुहिने नछुटिएका फोहोरकै व्यवस्थापन हुन सकेको छैन ।