Trending
स्थानीय निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आज मंगलबार राति १२ बजे मौन अवधि सुरु हुनेछ ।
मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको छ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलले मौन अवधि सुरु हुनुअघि नै सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न आग्रह गरे। यसका लागि आवश्यक निर्देशन दिन र नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
आयोगले मंगलबार राति १२ बजेदेखि नै मतदान सम्पन्न नभएसम्म मादक पदार्थ बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ। प्रवक्ता पौडेलले आयोगले तोकिएको अवधि र ठाउँमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरेको जानकारी दिए।