हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले बिहीबार रातिदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।
यो क्रम आज शनिबार मध्याह्नसम्म पनि जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरूमा मेघगर्जन तथा चटयाङसहित सामान्य वर्षा भइरहेको छ ।
आज देशका प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत छ ।
महाशाखाका अनुसार आज दिउँसोदेखि मौसममा केही सुधार हुने सम्भावना पनि छ । वर्षा रोकिएर बादल लागिरहे पनि वर्षा रोकिने महाशाखाको भनाइ छ ।