राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सको पहिलो ब्लकमा बाघ सर्वेक्षण सम्पन्न भएको छ ।
पहिलो ब्लकअन्तर्गत त्रिवेणी, चोरमारा, नवलपुर हुँदै कसरा, सौराहा र बरण्डाभार क्षेत्रमा गत मङ्सिर १९ गतेदेखि क्यामेरा राखेर सर्वेक्षण गरिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार ती क्षेत्रमा राखिएका क्यामेरा झिक्ने काम सकिएको छ । उनले भने, “पहिलो व्लकका क्यामेरा झिक्ने काम सम्पन्न भएको छ । दोस्रो ब्लकमा क्यामेरा राख्न सुरु गरिएको छ ।”
आज दिनभरमा दोस्रो ब्लकमा क्यामेरा राख्ने कामसमेत सम्पन्न हुने उनले जानकारी दिए । पहिलो ब्लकमा राखिएका क्यामेरा २१ दिनपछि झिकिएको हो । यस व्लकलाई २८० ग्रिडमा विभाजन गरी ५६० क्यामेरा प्रयोग गरिएको थियो ।
पहिलो ब्लकमा सर्वेक्षणका लागि १०० जनशक्ति परिचालन गरिएको थियो । पहिलो ब्लकमा सर्वेक्षणका लागि १३ स्थानमा क्याम्प खडा गरिएको जनाउँदै उनले प्रत्येक क्याम्पमा छदेखि आठ जनासम्म गणक तथा प्राविधिक परिचालन गरिएको जानकारी दिए ।
दोस्रो ब्लकअन्तर्गत सौराहादेखि पूर्वचितवनको पूर्वी भाग, माडीको पूर्वी भाग, ठोरी हुँदै शिकारीबाससम्म सर्वेक्षणको सुरु गरिने उनले बताए । उनका अनुसार यस ब्लकलाई २९० ग्रिडमा विभाजन गरी सर्वेक्षण गरिँदै छ । यहाँ करिब ५८० स्वचालित क्यामेरा प्रयोग गरिने निकुञ्जले जनाएको छ । निकुञ्जले यस वर्ष क्यामेरा ट्रयापिङको विधिबाट सर्वेक्षण गरिरहेको छ ।
निकुञ्जले प्रत्येक चार वर्ग किलोमिटर क्षेत्रफललाई एउटा ग्रिड मानेर एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गर्ने गर्दछ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघ सर्वेक्षणका लागि क्याम्प निर्माण गर्दा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गणको नजिकै पारिएको छ ।
काम गर्दा दुर्घटना हुनसक्ने भएकाले उच्च सावधानीका साथ काम गरिएको उनले बताए । दोस्रो ब्लकमा पनि सरदर २२ दिन बाघ सर्वेक्षण गरिने उनले जानकारी दिए।
-रासस