राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम-कोरला सडकको छवटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३-७४ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो ।

आयोजनाका प्रमुख जगत् प्रजापतिले चराङ–छोसेर २५ किलोमिटरबाहेक अन्य छवटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको बताए । “जोमसोम–कोरला खण्डको छवटा प्याकेजमा सडक स्तरोन्नति सकिएको छ”, उनले भने, “ढिलासुस्तीले प्रभावित भएको चराङ–छोसेर खण्डलाई गति दिन निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौँ ।”

जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि रु दुई अर्ब छ करोड बजेट विनियोजन भएको थियो । जोमसोम–ताङ्वे १८ किलोमिटर बज्रगुरु खड्गकृष्ण जेभी, ताङ्वेबाट चैलेसम्म ११ किलोमिटर दिवाडाफे एपेक्स जेभी, चैलेबाट भेनासम्म ११ किलोमिटर कान्छाराम कोसी एण्ड न्यौपाने जेभी र भेनाबाट झैतेसम्म १२ किलोमिटर सडक कञ्चनजङ्घा लामा बिल्डर्स बिरुवा जेभीले ठेक्का लिएका थिए ।

झैते–चराङ १९ किलोमिटर कञ्चनजङ्घा लामा मोतीदान जेभी र छोसेर–कोरला १४ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा रौताहा एपेक्स जेभी कन्ट्रक्शनले लिएका थिए । तामाङ गौरी पार्वती कोसी एण्ड न्यौपाने जेभीले ठेक्का लिएको छैटौँ खण्डको चराङ–छोसेर २५ किलोमिटर सडकमा तीन वर्षदेखि काम भएको छैन । उक्त खण्डका लागि रु २४ करोड बजेट विनियोजन भएकामा रु १५ करोड मात्र खर्च भएको छ । ६५ प्रतिशत निर्माण सकिएको छ । चराङमा कुलो र ढलको काम बाँकी छ । अरू ठाउँमा कटिङ र फिनिसिङको काम हुन बाँकी छ ।

लामो समयदेखि सो खण्डमा निर्माण कम्पनीले बेवास्ता गर्दै आएकाले उसको नाममा जम्मा भएको रु एक करोड नौ लाख मोबिलाइजेसन आयोजनाको खातामा फिर्ता ल्याएको प्रजापतिले बताए । भौतिक पूर्वाधार मन्त्रालयले कोभिडका कारण कम्पनीलाई यही चैत महिनाभित्र काम सक्न समयसीमा दिएको छ । सरकारले दिएको अवधिमा पनि निर्माण कम्पनी काममा नफर्किए ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने आयोजना प्रमुख प्रजापतिले बताए ।

राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेको यस सडकखण्डको सबैभन्दा चुनौतीपूर्ण स्थानमा भने स्तरोन्नतिको काम सम्पन्न भएको छ । आयोजनाका अनुसार समरको भीर, झोखोला र घ्याकरको अप्ठ्यारो खण्ड निर्माण सम्पन्न भइसकेको छ । घ्याकरमा मापदण्डअनुसार ग्रेड मिलान गरेर वैकल्पिक सडक निर्माण भइसकेको आयोजना प्रमुख प्रजापतिले बताए ।

आइतवार, २६ मंसिर, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा